पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको दोस्रो दिन पाँचपोखरी हिमालय क्रिकेट क्लब र मेलम्ची नगरपालिका बिजयी भएको छ । पाँचपोखरी हिमालयले चौतारा सँगाचोकगढी नगरपालिकालार्ई ६४ रन र मेलम्ची नगरपालिकाले इन्द्रावती गाउँपालिकालाई ६ विकेटले पराजित गरेको हो ।

आज भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाँचपोखरी हिमालय क्रिकेट क्लबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४७ रन बनाएपछि एक सय ४८ रनको बिजयी लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको चौताराले १७ दशमलव ३ ओभरमा अल आउट हुनुअघि ८३ रन मात्रै बनाउन सक्यो । पाँचपोखरीका लागि पेम्ब तामाङले नटआउट ५७ रनको अर्धशतकी इनिङ खेल्नुभयो । उहाँले ४१ बलको सामना गर्दा दुई छक्का र चार चौका प्रहार गर्नुभएको थियो ।
पासाङ तामाङले २९ कर्मा सिङ्गीले २७ र राजु लामाले १२ बनाउनुभयो । चौताराका लागि निकास श्रेष्ठले २ सुदीप बस्नेत र विजय नेपालीले समान एक विकेट लिनुभएको थियो ।

एक सय ४८ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ गरेको चौताराले १७ ओभर तीन बलमा ८३ रन मात्र बनाउन सक्यो । चौताराका राकेश श्रेष्ठ र निकास श्रेष्ठले समान २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जेड्न सकेन ।
पाँच पोखरीका लागि करण तामाङले चार विकेट लिनुभयो । चार ओभरको स्पेलमा १७ रन खर्चिँदै चार विकेट लिनुभएका तामाङ म्यान अफ द म्याच घोषित हुनुभयो । त्यस्तै फुर्वा तामाङले दुई, सनि तामाङ र कर्मा सिङ्गीले एक एक विकेट हात पार्नुभयो ।

त्यस्तै आज भएको दोस्रो खेलमा इन्द्रावती गाउँपालिकालाई मेलम्ची नगरपालिकाले ६ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको इन्द्रावतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०३ रन बनाएपछि १०४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको मेलम्चीले १६ दशमलव ४ ओभरमा चार विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
इन्द्रावतीका लागि चन्द्रकान्त पौडेलले सर्वाधिक २६ रन बनाउनुभयो । त्यस्तै निशान भारतीले १३ रन उमंग धितालले चौध रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । मेलम्चीका सोनु देवकोटाले तीन रेन्जिन लामाले २ प्रसिस श्रेष्ठले दुई र राकेश श्रेष्ठले एक वीकेट हात पार्नुभयो ।
मेलम्चीका लागि कप्तान रेञ्जिन लामाले ४२ रनको इनिङ खेल्नुभयो । राकेश श्रेष्ठले नटआउट २५ रन बनाउनुभयो भने सोनु देवकोटाले १२ र विनोद तामाङले नटआउट ४ रनको इनिङ खेल्नुभयो । इन्द्रावतीका लागि निशान भारतीले २, चन्द्रकान्त पौडेलले एक सुमन चौलागाईले एक विकेट लिनुभयो । ब्याटिङ तर्फ ४२ रन तथा बलिङमा २ विकेट हात पार्न सफल मेलम्चीका कप्तान रेन्जिन लामा यस खेलका म्यान अफ द म्याच घोषित हुनुभयो ।
