श्री सेतीदेवी माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव सम्पन्न

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिका ११ मा रहेको श्री सेतीदेवी माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले अब बालबालिकालाई सिपमूलक शिक्षा दिएर जिम्मेवारीपूर्ण विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । प्रमाणपत्रको लागी मात्र नभई जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेको बताउँदै उहाँले भोलिका दिनमा आउने चुनौती र अवसर सामना गर्न सक्ने विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । साथै कृत्रिम बौद्धिकताको चुनौतीले गर्दा शिक्षकहरू परिमार्जित हुँदै जानुपर्नेमा उहाँको भनाई थियो ।

विद्यालयलाई आवश्यकता र अभाव पूर्तिका लागि आफू सदैव तयार रहेको बताउँदै क्रमागत रूपमा चुनावी प्रतिबद्धता पूरा गर्दै जाने बताउनुभयो । बागमती प्रदेशभरिका अरू सांसद र मन्त्रीले गरेका काम भन्दा आफूले गरेको काम सबैभन्दा धेरै रहेको मन्त्री दुलालले दाबी  गर्नुभयो । बोडगाउँ अस्पतालको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउँदै बोडगाउँको विकासको लागि १२ नम्बरमा केही प्रयासहरू भइरहेको र बोडगाँउले पनि त्यस्ता योजना बनाएर ल्याउन आग्रह गर्नुभयो । 

प्रदेश सरकारको श्रोतले भ्याएसम्मका सबै विकास निर्माणका कामहरू गर्दै जाने बताउँदै माझी समुदायका बालबालिकालाई उच्च शिक्षा दिन नसकेमा अर्काे पुस्ताले समेत दुख पाउने उहाँको भनाई थियो ।

कार्यक्रमका विशेष अतिथि गाउँपालिका राष्ट्रिय महासङ्घका सल्लाहकार तथा नेपाली काँग्रेस महासमिति सदस्य वंशलाल तामाङले विद्यालयले गुणस्तरीय शिक्षा दिई गाउँमै बस्ने वातावरण सृजना गर्नुपर्ने बताउनुभएको छ । विद्यार्थीहरूले देश छाड्ने क्रम बढिरहेको बताउँदै सामुदायिक विद्यालयमा विद्यार्थी घट्दो क्रममा रहेको धारण राख्नुभयो । 

तिनै तहका सरकारले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकताका साथ काम गर्दै प्रत्यक्ष नागरिकसँग जोडिने कार्यक्रमहरूलाई प्राथमिकता दिएर जानुपर्नेमा उहाँले जेड दिनुभयो । शिक्षकहरूको आत्मबल बलियो बनाउन लाग्नुपर्ने बताउँदै रोजगारी सृजना गरेर गाउँमै गुणस्तरीय शिक्षा दिने हो भने कोही पनि बाहिरिनु नपर्ने उहाँको भनाई थियो । 

अभिभावकले बालबालिकालाई उचित वातावरण निर्माण गरी पढ्ने वातावरण सृजना गर्नुपर्ने र कक्षा १२ सम्म सरकारले खाजाको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वैदेशिक रोजगारीमा जाँदा पनि सीप सिकेर जाने वातावरण बनाउन सकेमा दुख नपाउने उहाँको भनाई थियो । साथै विद्यालयजस्तो पवित्र स्थानमा राजनीतिकरण हुन नदिन सबैले प्रतिबद्धता गर्नुपर्ने उहाँको धारणा थियो । माझी समुदायले आफ्नो भाषा र संस्कृतिको प्रवर्धन गर्न सकेमा पर्यटकीय हब बनाउन सकिने बताउँदै समुदायको चौतर्फी विकासका लागि आफू सधैँ सँगै रहेको बताउनुभयो । साथै योजनाहरू प्राथमिकतामा नपरी डुब्लिकेसन भइरहेको बताउँदै  सङ्घीय तथा प्रदेश सरकारले व्यवस्थापन गरेको बजेटलाई स्थानीय तहले प्राथमिक करण गर्नुपर्ने उहाँको भनाई थियो । 

इन्द्रावती गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष रामजि माझीले केन्द्र तथा प्रदेश सरकारले योजना तथा बजेटमा उपेक्षा गरेको गुनासो गर्नुभयो । बजेट विनियोजन गर्दा तल्लो तहमा रहेर काम गर्ने निकायको सल्लाह र सुझाव लिनुपर्ने उहाँको भनाई थियो । सेतीदेवी माविको लागी शिक्षक दरबन्दी कम रहेको र भौतिक संरचना पर्याप्त नरहेको जानकारी गराउँदै यस समस्याको समाधान गरी कक्षा १२ सम्म सञ्चालन गर्नुपर्ने उहाँको माग थियो । माझी समुदायबाट सरकारी सेवामा नरहेकाले अब शैक्षिक गुणस्तरलाई विशेष प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो । 

वडा नम्बर ४ का अध्यक्ष क्षेत्र  बहादुर तामाङले पालिकाले भाषणमा मात्र नभई व्यावहारिक र वैज्ञानिक बनाउन छलफल भइरहेको बताउनुभयो । विद्यालयमा भवनहरू गुणस्तरीय भए पनि शैक्षिक गुणस्तर सोचेजस्तो नभएको र भावी दिनका कर्णधारहरूलाई  आज गुणस्तरीय शिक्षा दिन सक्नुपर्ने उहाँको भनाई थियो । साथै शैक्षिक गुणस्तरको लागि आफ्नो तर्फबाट गर्न सक्ने सबै काम गरेर जाने उहाँले बताउनुभयो । 

नेपाली काँग्रेसका पालिका सभापति जीवन कुमार थापामगरले विद्यार्थीमा भएको स्तरलाई तिखार्न जरुरी रहेको बताउनुभयो । सामुदायिक र निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई अभिभावकले फरक व्यवहार गर्ने गरेको बताउँदै निजी विद्यालयमा पढ्नेहरू अरू देशको सेवा गर्न गएको तर सामुदायिक विद्यालयमा पढ्नेहरूले देशको सेवा गरिरहेको उहाँको तर्क थियो । 

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि उद्धव बानियाँले यसअघि पनि विद्यालयलाई सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन बहादुर माझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरे, वडा नम्बर १२ का अध्यक्ष सुरेन्द्र बहादुर, वडा नम्बर ८ का अध्यक्ष डिल बहादुर श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष रवीन्द्र कुमार खाती पूर्व वडा अध्यक्ष मने माझी, पाँचपोखरी बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष वीर बहादुर तामाङ गाउँपालिकाका बालमैत्री सहजकर्ता निईन्द्र आचार्य, नेपाल विद्यार्थी संघका केन्दिय सदस्य राजकुमार भट्टराई लगायत निर्वाचित जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

प्रधानाध्यापक तोप प्रसाद नेपालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको अवसरमा वर्ष उत्कृष्ट शिक्षक, विद्यार्थी र सहयोगी सङ्घ संस्थालाई सम्मान समेत गरेको थियो । 

Leave a Reply