सुर्यकिरण आविको ४६ औँ वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती ३ मा रहेको सुर्यकिरण आधारभूत विद्यालयको २३ औँ वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच विद्यालयले वार्षिकोत्सव तथा सिकाई मेला आयोजना गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले गाउँपालिकाले कक्षा १ देखि ८ सम्म पाठ्यक्रममा आधारित पाठ्यपुस्तक वितरण गरेको बताउनुभयो । सिकाई उपलब्धि एक शैक्षिक सत्रमा १५ प्रतिशत बढाएको बताउँदै आगामी वर्ष ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको नेपालले बताउनुभयो । आम समृद्धिका लागि शैक्षिक समृद्धि प्राप्त गर्न पालिकाको एक तिहाइ बजेट खर्च गरिरहेको पनि अध्यक्ष नेपालले बताउनुभयो । शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि सबै विषय शिक्षकहरूलाई तालिम दिइएको उहाँले बताउनुभयो । पालिकाले आफ्नो तर्फबाट सक्ने सहयोगमा कन्जुस्याइँ नगर्ने पनि उहाँले बताउनुभएको छ । 

कार्यक्रमको अवसरमा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका कृष्णप्रसाद सुवेदीले अघिल्लो कार्यकालबाट सुरु भएको १३ वटा विद्यालयमा सिक्ने सिकाउने तरिकामा परिमार्जन गरी एमजिएमएल प्रणाली लागु हुनु खुसीको कुरा भएको बताउनुभयो । सिकाई उपलब्धि ईन्द्रावति गाउँपालिकाले राम्रो गरेको उहाँले बताउनुभयो । विद्यालयहरूमा स्थायी शिक्षकहरू पठाउन सफल भएको उहाँले जानकारी दिनुभयो । 

यस्तै कार्यक्रमको अवसरमा बोल्दै वडा अध्यक्ष भीमसेन थापाले अबको शिक्षा व्यावहारिक र जीवन उपयोगी हुनुपर्ने बताउनुभयो । विद्यालयको हितका लागि वडाले गर्नुपर्ने सबै खाले सहयोग गरिरहने उहाँले बताउनुभएको छ । साथै पालिकाभरका विद्यालयको बिचमा सुर्यकिरण पहीलो भएकोमा वडा अध्यक्ष थापाले धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । 

 कार्यक्रममा जर्मन नेपाल सहयोग संधका शिक्षा अधिकृत ठाकुर प्रसाद पौडेलले बालबालिकाको बृहत्तर सिकाईका लागि इन्द्रावतीका १३ वटा विद्यालयमा काम गरिरहेको बताउनुभयो । बालबालिकाको सिकाई र शिक्षकको सिप विकासका लागि काम गरिरहेको उहाँले बताउनुभयो । शैक्षिक मेलाले बालबालिकामा भएका ज्ञान, सिप र क्षमताको प्रदर्शन गर्नका लागि सिकाई मेला प्रभावकारी हुने उहाँले बताउनुभयो । 

समाजसेवी तथा राजनीतिक दलका प्रतिनिधीहरुको सहभागितामा भएको कार्यक्रममा समाजसेवी भूपेन्द्र थापाले पोसाक तथा झोला वितरण गर्नुभएको थियो भने जीवी फाउन्डेसनको तर्फबाट वाटर डिस्पेन्सरी विद्यालयलाई हस्तान्तरण गरिएको थियो । साथै विद्यालयमा विभिन्न समयमा सहयोग गर्ने व्यक्तिहरू, पूर्व शिक्षकहरू तथा उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेल बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply