पाँचपोखरी। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटस्थित नागी थामडाँडामा निर्माण गरिएको ५१ फिट अग्लो गुरु रेम्बोर्छे (पद्मसम्भव) को प्रतिमाको प्राणप्रतिष्ठा तथा समुद्घाटन गरिएको छ।
गाउँपालिकाको गौरवको परियोजनाका रूपमा निर्माण गरिएको पेमाछल उद्यान केन्द्रमा स्थापना गरिएको उक्त प्रतिमाको प्राणप्रतिष्ठा तथा उद्घाटन क्याब्जे गोन्ज्याङ छोटुल रेम्बोर्छेको पावन कमल बाहुलीबाट गरिएको हो। आज आयोजित विशेष धार्मिक समारोहमा गाउँपालिका अध्यक्ष टासी लामा, जनप्रतिनिधि, धर्मगुरु, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
गुरु रिन्पोछेको परम निधिपति ङाग्छ्याङ शाक्य जाङ्बोको दशौँ अवतारका रूपमा श्रद्धा गरिनुहुने परम पवित्र गोन्ज्याङ छोटुल रिन्पोछेको उपस्थितिमा धार्मिक विधिअनुसार प्रतिमाको प्राणप्रतिष्ठा सम्पन्न गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामाले पेमाछल उद्यान केन्द्रमा निर्माण गरिएको गुरु रेम्बोर्छेको प्रतिमा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्दै परियोजना निर्माणमा सहयोग गर्ने सबै व्यक्ति, संस्था तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्नुभयो। नागी थामडाँडा क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको यस प्रतिमाले बौद्ध धर्मावलम्बीहरूको धार्मिक आस्थालाई थप मजबुत बनाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण नागी थामडाँडामा निर्माण भएको ५१ फिट अग्लो गुरु रेम्बोर्छेको प्रतिमा पाँचपोखरी थाङपाल गाउँपालिकाको धार्मिक पर्यटन विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नागी थामडाँडा संरक्षण विकास समिति, पाँचपोखरी थाङपालका अध्यक्ष फुर्पा सिङ्गी लामाको अध्यक्षतामा सम्पन्न समारोहमा धार्मिक विधि, पूजापाठ तथा विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो।
यस परियोजनाले पाँचपोखरी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई थप स्थापित गर्दै स्थानीय पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
