नवलपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत इन्द्रावती गाउँपालिकामा पनि एक कार्यक्रम आयोजना गरी सुरुवात गरिएको छ। पूर्वसभामुख एवं नेकपाका नेता अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, पार्टीको आगामी कार्यदिशा र जागरण अभियानको उद्देश्यबारे प्रशिक्षणात्मक मन्तव्य प्रस्तुत गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वसभामुख सापकोटाले जस्तोसुकै राजनीतिक परिस्थितिमा पनि सिन्धुपाल्चोकमा नेकपाले विजय हासिल गर्न सक्नु जिल्लाप्रति देशले नै आशा राखेको प्रमाण भएको बताउनुभयो। तर, पार्टीभित्र हुनुपर्ने जति एकता हुन नसक्दा पटकपटक अवसर गुमाउनुपरेको उल्लेख गर्दै एकताको सुरुवात आफैँबाट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
नेतृत्व चयन गर्दा मूल्य, मान्यता, आदर्श र नैतिक शुद्धतालाई आधार बनाउनुपर्ने बताउँदै सापकोटाले पार्टी विचार, विधि, प्रविधि, संगठन र संघर्षका क्षेत्रमा कमजोर बनेको आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो। न्याय र समानता नै समाजका नैसर्गिक मान्यता भएको उल्लेख गर्दै असमानता खतरनाक हुने उहाँको भनाइ थियो। अध्ययन, छलफल र बहससँगै अनुभव र व्यवहारले मात्रै राजनीतिक सफलताको आधार तयार गर्ने उहाँले बताउनुभयो।
राष्ट्रियता र राष्ट्रिय स्वतन्त्रता संकटमा रहेको दाबी गर्दै उहाँले नेपाली जनताले आफ्ना विषयमा आफैँ निर्णय गर्न पाउने अवस्था कमजोर हुँदै गएको टिप्पणी गर्नुभयो। देश रिमोट कन्ट्रोलबाट चलिरहेको जस्तो अवस्था सिर्जना हुँदा राष्ट्रिय स्वाभिमानमा आँच पुगेको उहाँको भनाइ थियो। गत भदौ २३ र २४ गतेका घटनालाई दशकौँदेखि सञ्चालन हुँदै आएको अमेरिकी योजनासँग जोडेर व्याख्या गर्दै उहाँले वर्तमान सरकारको दिशा, दृष्टिकोण र गन्तव्य स्पष्ट नरहेको आरोपसमेत लगाउनुभयो।
अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्यशैली र सरकारको नीतिप्रति आलोचना गर्दै सापकोटाले विदेशी अनुभव र प्राविधिक ज्ञान मात्रै नेपालको वास्तविक समस्याको समाधान हुन नसक्ने टिप्पणी गर्नुभयो। वर्तमान सरकारले नेपाली जनताको भावनाको सम्मान गर्न नसकेको आरोप लगाउँदै उहाँले नेकपा नेपाली जनताको आशा र भरोसा बोकेको पार्टी भएको दाबी गर्नुभयो।
राष्ट्रिय जागरण अभियानको मुख्य उद्देश्य जनमत निर्माण गर्नु, पार्टीका विगतका राम्रा कामको अपनत्व लिँदै कमजोरी पहिचान गर्नु र आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्नु रहेको उहाँले स्पष्ट पार्नुभयो। विगतका कमजोरीबाट पाठ सिक्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नसमेत उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
कार्यक्रममा नेकपाका केन्द्रीय कमिटी सदस्य पूर्णलाल श्रेष्ठले राजनीतिमा सफलता र असफलता दुवैलाई स्वीकार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। सबै नेता तथा कार्यकर्ता एकजुट भएर संगठन निर्माणमा लाग्नुपर्ने उल्लेख गर्दै आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी सबै वडामा पार्टीको तयारीलाई तीव्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यसैगरी, केन्द्रीय कमिटी सदस्य फाइन्द्र तामाङले राष्ट्रिय जागरण अभियानको औचित्य, उद्देश्य, तयारी तथा यसको प्रभावका विषयमा धारणा राख्नुभएको थियो। अभियानले पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने र आगामी राजनीतिक चुनौती सामना गर्न आधार तयार गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेताहरूले पार्टीभित्र एकता, संगठनात्मक सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा स्थानीय निर्वाचनको तयारीलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
