शिखरपुर । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुरमा आयोजित ‘तेस्रो वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’को उपाधि भुमेस्थान माध्यमिक विद्यालयले जितेको छ।
शितलादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको फाइनलमा फाइनलमा भुमेस्थान आबिले नवज्योति युवा क्लबलाई २५–१४ र २५–२२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
उपविजेता नवज्योति युवा क्लबले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
त्यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा कार्की युवा समाजले बगुवा युवा क्लबलाई २५–२२, २५–१६ र १५–१२ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो। कार्की युवा समाजले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित असोज २९ गतेदेखि सुरु भएको प्रतियोगिता असोज ३० गते सम्पन्न भएको हो। प्रतियोगितामा नवज्योति युवा क्लब, भुमेस्थान माध्यमिक विद्यालय, बगुवा युवा क्लब, कार्की समाज युवा क्लब, काफ्ले खोला युवा क्लब, शितलादेवी माध्यमिक विद्यालय र फलामे युवा क्लब सहभागी थिए।
प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिमा पूर्वमन्त्री एवं सांसद कृष्णकुमार, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष अमृत खनालको विशेष आतिथ्यता रहेको थियो । उहाँहरुले विजेता र उपविजेता टोलीलाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
मेलम्ची नगरपालिका–१० को वडा कार्यालयको आर्थिक सहयोग तथा वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समितिको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको हो।
