सिन्धुपाल्चोक । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्रजनन स्वास्थ्य, रजोनिवृत्ति तथा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक आवाज, वास्तविक परिवर्तन’ भन्ने मूल नाराका साथ चौतारा बहुमुखी क्याम्पस, चौतारामा कार्यक्रम आयोजना गरिएको हो। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चौताराको समन्वय र सहकार्यमा कार्यक्रम भएको हो। कार्यक्रममा प्रजनन उमेरका महिला तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले मानसिक रूपमा स्वस्थ रहन खानपान र व्यवहारमा ध्यान दिन आग्रह गर्नुभयो।
बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक दीपकप्रसाद तिवारीले विपद्का बेला मानसिक स्वास्थ्यमा थप ध्यान दिनुपर्ने बताउनुभयो। मानसिक समस्यालाई लुकाउने तथा नकारात्मक दृष्टिले हेर्ने प्रवृत्तिले समस्या झन् बढ्न सक्ने उल्लेख गर्दै उहाँले समयमै ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
मानसिक समस्या समाधानका लागि औषधि मात्र पर्याप्त नहुने भन्दै उहाँले परिवार, आफन्त र साथीभाइको साथ तथा सहयोग पनि आवश्यक रहेको बताउनुभयो। यसमा सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले महिनावारी, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी विषयमा सहभागीलाई जानकारी गराउनुभयो। उहाँले स्वास्थ्य समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श तथा उपचार लिन आग्रह गर्नुभयो।
