ईन्द्रावतीका नवनियुक्त प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावती गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ पहिलो चरणका नवनियुक्त प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता सम्पन्न भएको छ। गाउँपालिकाले शैक्षिक नेतृत्वलाई सुदृढ र जवाफदेही बनाउन प्रधानाध्यापक छनोट प्रक्रिया पूरा गरी औपचारिक रूपमा करार सम्झौता गरेको हो।

​गाउँ कार्यपालिकाको कार्यालय नवलपुरमा आयोजित कार्यक्रममा नवनियुक्त प्रधानाध्यापकहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। गाउँपालिकाले विद्यालयको समग्र विकास, शैक्षिक उपलब्धि, प्रशासनिक अनुशासन र चुस्त व्यवस्थापनमा प्रधानाध्यापकको नेतृत्वदायी भूमिका निर्णायक हुने अपेक्षा राखेको छ।

​यस सम्झौतासँगै प्रधानाध्यापकहरूले निश्चित लक्ष्य र सूचकका आधारमा विद्यालयको शैक्षिक नतिजा उकास्न तथा कक्षाकोठाको सिकाइ वातावरणमा सुधार ल्याउन काम गर्नेछन्। गाउँपालिकाले नवनियुक्त प्रधानाध्यापकहरूको कार्यदक्षता र प्रतिबद्धताले ईन्द्रावतीको समग्र शैक्षिक उन्नयनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

सिन्धुपाल्चोक जिल्लाका १२ वटा पालिकामध्ये इन्द्रावती गाउँपालिका नै पहिलोपटक विद्यालयका प्रधानाध्यापकसँग करार सम्झौता गरी काम गर्ने पालिका भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो।

आजको कार्यक्रममा इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी, इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शशीनाथ आचार्य, इन्द्रावती गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मिनबहादुर धामी लगाएत शाखा प्रमुखहर र नव नियुक्त प्रधानाध्यापकहरुकाे सहभािगता रहेकाे थियाे ।

Leave a Reply