बेपत्ता परिवारको पीडामा क्यौरानी युवा समाजको साथ, स्थानीय तहका लागि अनुकरणीय पहल

* # समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका मेलम्ची नगरपालिका–८ का बसन्त गिरी र हर्क तामाङको खोज तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले क्यौरानी युवा समाजले आर्थिक सहयोग गरेको छ।

समाजले बेपत्ता गिरी र तामाङका परिवारलाई २० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको हो। विपद्को कठिन अवस्थामा पीडित परिवारलाई साथ दिन र खोजी तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको समाजले जनाएको छ।

आफन्त बेपत्ता भएपछि परिवारजन लामो समयदेखि उनीहरूको अवस्थाबारे जानकारीको प्रतीक्षामा छन्। यस्तो पीडादायी अवस्थामा क्यौरानी युवा समाजले पीडित परिवारको दुःखमा साथ दिँदै सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ।

समाजको यो पहल आर्थिक सहयोगमा मात्र सीमित नभई विपद्का बेला समुदाय र स्थानीय संस्थाले निर्वाह गर्नुपर्ने सामाजिक दायित्वको उदाहरण बनेको छ। विशेषगरी विपद्मा पीडित परिवारको अवस्था बुझेर तत्काल सहयोग र सहारा उपलब्ध गराउनु स्थानीय तहको पनि महत्वपूर्ण दायित्व हो। यस दृष्टिले क्यौरानी युवा समाजले देखाएको अग्रसरता स्थानीय तह तथा अन्य सामाजिक संघसंस्थाका लागि समेत प्रशंसनीय र अनुकरणीय देखिएको छ।

समाजले बसन्त गिरी र हर्क तामाङको शीघ्र खोजी तथा सकुशल उद्धारका लागि सम्बन्धित निकायलाई थप सक्रियताका साथ खोजी कार्य अघि बढाउन आग्रह गरेको छ। साथै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा अन्य सहयोगी पक्षबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएको छ।

विपद्को समयमा राहत र आर्थिक सहयोगसँगै बेपत्ता नागरिकको खोजी तथा पीडित परिवारको मनोबल बढाउने कामलाई पनि प्राथमिकता दिनुपर्ने र सबैले कठिन परिस्थितिमा सहयोग, सद्भाव र एकताको भावना देखाउँदै पीडित परिवारको साथमा उभिनुपर्ने समाजको भनाइ छ।

Leave a Reply