मेलम्ची–७ का प्रकाश श्रेष्ठलाई थाइल्याण्डमा अपाङ्गता अधिकारको अन्तर्राष्ट्रिय सम्मान

* # प्रवास समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका–७, पोखरीभञ्ज्याङ निवासी सामाजिक अभियन्ता तथा अपाङ्गता अधिकारकर्मी प्रकाश श्रेष्ठलाई अपाङ्गता अधिकार तथा सामाजिक सेवाको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप थाइल्याण्डमा सम्मान गरिएको छ।

नेपालमा विगत १८ वर्षदेखि अपाङ्गता अधिकार, सामाजिक समावेशीकरण, पुनर्स्थापना, सीप विकास तथा सामाजिक सेवाको क्षेत्रमा सक्रिय श्रेष्ठलाई सन् २०२६ अगस्ट १६ मा थाइल्याण्डमा आयोजित नेपाल–थाइल्याण्ड मैत्रीसम्बन्धी विशेष कार्यक्रममा सम्मान गरिएको हो।

World Wide Media Production र Himalayan Community Projectको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल र थाइल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनेसँगै सामाजिक सेवा, युवा सशक्तीकरण, संस्कृति, पर्यटन तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा आयोजित नेपाल–थाइल्याण्ड मैत्री महोत्सव २०२६ मा श्रेष्ठलाई अपाङ्गता क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको जनाइएको छ।

तर श्रेष्ठका लागि यो सम्मान केवल एउटा पुरस्कार होइन, बाल्यकालदेखि भोगेको पीडा, अपमान, अभाव र संघर्षलाई सामाजिक सेवामा रूपान्तरण गरेको १८ वर्षे यात्राको अन्तर्राष्ट्रिय पहिचान पनि हो।

१० वर्षको उमेरमै जीवन बदल्ने दुर्घटना

श्रेष्ठ १० वर्षको हुँदा घर बनाउने क्रममा ढुङ्गाखानीमा काम गर्ने क्रममा देब्रे खुट्टामा ढुङ्गाले गम्भीर चोट लाग्यो। खुट्टा सुन्निएपछि उनका अनपढ तथा अन्धविश्वासी आमाबुबाले करिब एक महिनासम्म धामीझाँक्री र झारफुक गराए। अवस्था जटिल भएपछि उनलाई बनेपास्थित शिर मेमोरियल अस्पताल लगियो।

करिब एक वर्ष उपचार गरेपछि चिकित्सकले खुट्टा काट्नुपर्ने अवस्था रहेको बताएका थिए। तर विदेशी चिकित्सकको सफल शल्यक्रियापछि उनको देब्रे खुट्टाको बुढीऔँला मात्र काट्नुपर्‍यो र बाँकी खुट्टा जोगियो।

उपचारपछि घर फर्किने क्रममा उनले अर्को पीडादायी घटना भोगे। त्यतिबेला गाडीको सुविधा सहज थिएन। मेलम्चीबाट करिब एक घण्टा उकालो हिँडेर घर पुग्नुपर्ने अवस्था थियो। आफूलाई बोक्न गाह्रो भएपछि बुवाले “यसलाई मेलम्ची खोलामा फ्याँकिदेऊ” भनेको कुरा उनले १० वर्षकै उमेरमा सुने।

तर आमाले भने, “तैंले बोक्न सक्दैनस् भने म आफैँ बोक्छु” भनेकी थिइन्। श्रेष्ठका अनुसार आमाको त्यो वाक्य आज ४० वर्षको उमेरमा पनि उनको मनमा गहिरोसँग गुञ्जिरहन्छ।

उचित उपचारको अभावमा उनले करिब दुई वर्षसम्म निरन्तर पीडा भोग्नुपर्‍यो। विद्यालय फर्किएपछि अपाङ्गताकै कारण अपमानित हुनुपर्‍यो र अन्ततः विद्यालयबाट निकालिए।

अपमान र अभावसँग लड्दै शिक्षा

विद्यालयबाट निकालिएपछि उनका दाजुदिदीले उनलाई काठमाडौं ल्याए। नेपाल अपाङ्ग संघ, जोरपाटीमा पढ्ने अवसर पाएपछि उनले कठिन परिस्थितिका बाबजुद आफ्नो अध्ययनलाई निरन्तरता दिए।

कक्षा ३ देखि ५ सम्म विशेष विद्यालयमा अध्ययन गरेका श्रेष्ठले त्यसपछि चामुण्डा माध्यमिक विद्यालयबाट एसएलसी पूरा गरे। आर्थिक अभावका बाबजुद चाबहिलस्थित ब्रिलियन्ट मल्टिपल क्याम्पसमा निःशुल्क अध्ययन गर्दै कक्षा १२ सम्मको शिक्षा पूरा गरे।

जीवन धान्न उनले विभिन्न समयमा भाँडा माझ्ने, झोलामा सामान बोकेर बजार–बजार हिँड्ने लगायतका कामसमेत गरे। रोजगारीका लागि धेरै ठाउँमा प्रयास गरे पनि अपाङ्गताको कारण अवसर पाउन कठिन भयो। अन्ततः २०६५ सालमा उनले सामान्य रोजगारी पाए।

तर रोजगारी पाएपछि उनको सोच केवल आफ्नो जीवन सहज बनाउनेतर्फ सीमित रहेन। आफूले भोगेको पीडा र अपमान अरू अपाङ्गता भएका व्यक्तिले भोग्न नपरोस् भन्ने भावनाले उनलाई सामाजिक सेवातर्फ डोर्‍यायो।

१३ जनाबाट सुरु भएको अभियान

श्रेष्ठसहित १३ जना अपाङ्गता भएका व्यक्तिहरू मिलेर सामाजिक सेवाको उद्देश्यसहित संस्था स्थापना गरे। आज उनी र उनकी श्रीमती युवा अपाङ्ग संगठन नेपालमार्फत अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पुनर्स्थापना, सीप विकास र सामाजिक पुनःस्थापनाका लागि निरन्तर काम गरिरहेका छन्।

१८ वर्षको अवधिमा उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका विषयमा पैरवी गर्नुका साथै सामाजिक समावेशीकरण, सीप तथा क्षमता विकास, प्राविधिक एवं व्यावसायिक सीप, आत्मनिर्भरता, पुनर्स्थापना, रोजगारी तथा सामाजिक सहभागिताका क्षेत्रमा काम गर्दै आएका छन्।

संस्थाले गरेको योगदानको कदरस्वरूप नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयबाट २०७१ सालमा राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारसमेत प्राप्त गरेको श्रेष्ठले बताए।

‘अपाङ्गता शरीरमा हुन सक्छ, सपनामा होइन’

श्रेष्ठका लागि आफ्नो जीवन आफैंमा संघर्षको कथा हो। बाल्यकालमा जीवन र मृत्युको दोसाँधबाट फर्किएका उनले अपमान, अभाव र सामाजिक विभेदसँग निरन्तर संघर्ष गरे। तर उनले त्यसलाई आफ्नो कमजोरीका रूपमा स्वीकार गरेनन्।

“म केवल अपाङ्ग भएर बाँचेको व्यक्ति होइन, म मृत्युको नजिक पुगेर फर्किएको व्यक्ति हुँ,” श्रेष्ठ आफ्नो जीवन यात्रालाई यसरी सम्झन्छन्।

उनको जीवनको अहिलेको उद्देश्य आफूले भोगेको पीडा अरू कुनै अपाङ्ग व्यक्तिले भोग्न नपरोस् भन्ने हो। अपाङ्गता भएका व्यक्तिहरूलाई दया र सहानुभूतिको पात्रका रूपमा नभई अधिकार सम्पन्न, सक्षम, आत्मनिर्भर र समाजका समान नागरिकका रूपमा स्थापित गराउनु उनको अभियानको मुख्य लक्ष्य हो।

१८ वर्षको यात्राको अन्तर्राष्ट्रिय सम्मान

नेपालमा १८ वर्षदेखि अपाङ्गता अधिकार र सामाजिक सेवामा सक्रिय श्रेष्ठलाई थाइल्याण्डमा गरिएको सम्मानले उनको व्यक्तिगत योगदानसँगै नेपालको अपाङ्गता आन्दोलनलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अवसर दिएको छ।

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, पहुँच, सीप विकास र सामाजिक सहभागिताका विषय अझै चुनौतीपूर्ण रहेका बेला श्रेष्ठजस्ता अभियन्ताको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा सम्मान गरिनु महत्वपूर्ण मानिएको छ।

उनलाई प्रदान गरिएको सम्मान व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई अपाङ्गता भएका व्यक्तिहरू स्वयं सामाजिक परिवर्तनका नेतृत्वकर्ता र समाज निर्माणका महत्वपूर्ण साझेदार बन्न सक्छन् भन्ने सन्देशका रूपमा समेत हेरिएको छ।

१८ वर्षको सामाजिक यात्रामा प्राप्त यो सम्मानलाई श्रेष्ठले आगामी दिनमा थप जिम्मेवारीपूर्वक काम गर्ने प्रेरणाका रूपमा लिएका छन्। विशेषगरी अपाङ्गता भएका युवाको शिक्षा, सीप, रोजगारी, उद्यमशीलता, अधिकार तथा नेतृत्व विकासका क्षेत्रमा अझ प्रभावकारी योगदान पुर्‍याउने उनको लक्ष्य छ।

श्रेष्ठको जीवनयात्राले एउटा स्पष्ट सन्देश दिएको छ—अपाङ्गता शरीरमा हुन सक्छ, तर सपना, साहस र इच्छाशक्तिमा कहिल्यै अपाङ्गता हुनुहुँदैन।

Leave a Reply