मेलम्चीमा ‘इन्स्ट्यान्ट पोर्टल’ सम्बन्धी एकदिने कार्यशाला

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची, सिन्धुपाल्चोक, २ भदौ २०८३

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा विपद् पूर्वसूचना तथा निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन ‘इन्स्ट्यान्ट पोर्टल’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।

RIMES (Regional Integrated Multi-Hazard Early Warning System) को सहकार्य तथा USAID/अमेरिकी सहयोगमा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षता रहेकाे थियाे । कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, वडा अध्यक्ष, पत्रकारलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा RIMES नेपाल कार्यक्रम प्रमुख पूजा शाक्य र RIMES थाइल्यान्ड कार्यालयका अमित प्रसाद नायकको समेत सहभागिता थियो।

कार्यक्रममा RIMES नेपाल कार्यक्रम प्रमुख पूजा शाक्यले इन्स्ट्यान्ट पोर्टलको उद्देश्य, संरचना र प्रयोगबारे जानकारी दिँदै विभिन्न स्रोतबाट प्राप्त मौसम, जलवायु, जलविज्ञान तथा विपद्सम्बन्धी तथ्याङ्कलाई एकीकृत विश्लेषण गरी निर्णय लिन सहयोग गर्ने डिजिटल प्रणाली नै ‘Decision Support System’ भएको बताउनुभयाे।

उनका अनुसार RIMES ले एसिया र अफ्रिकाका विभिन्न देशमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन काम गर्दै आएको छ। नेपालमा जल तथा मौसम विज्ञान विभागले यसको अपनत्व लिएको र दक्षिण एसियामा नेपालसहित बंगलादेश, पाकिस्तान तथा श्रीलंकामा कार्यक्रम लागू गरिएको उहाँले जानकारी दिनुभयाे।

इन्स्ट्यान्ट पोर्टलले Numerical Weather Prediction (NWP) मोडलमार्फत मौसमको दुई सातासम्मको पूर्वानुमान उपलब्ध गराउने तथा दिनमा चार पटक पूर्वानुमान अपडेट गर्ने कार्यक्रममा जानकारी दिइयो। पोर्टलले विश्वभरबाट प्राप्त ठूलो परिमाणको मौसमसम्बन्धी तथ्याङ्कलाई विश्लेषण गरी करिब ९ किलोमिटर रिजोलुसनमा पूर्वानुमान उपलब्ध गराउने बताइएको छ।

सफ्टवेयर डेभलपर अनुप अधिकारीले सहभागीलाई इन्स्ट्यान्ट पोर्टल कसरी प्रयोग गर्ने भन्नेबारे व्यावहारिक प्रशिक्षण दिनुभएकाे थियाे ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले RIMES को कार्यक्रमले सरकार तथा स्थानीय तहलाई विपद् व्यवस्थापनमा सहयोग पुगेको भन्दै यस्ता कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिने बताउनुभयाे।

त्यस्तै सहभागी अमरनाथ आचार्यले विपद् व्यवस्थापनको क्षेत्र निकै व्यापक र प्राविधिक भएकाले सिक्न बाँकी धेरै रहेको बताउनुभयाे। विगतमा विपद् आउनुअघि सूचना प्राप्त गर्ने अवस्था कमजोर भए पनि अहिले पूर्वसूचना प्रणालीका कारण समयमै जानकारी पाउन सकिने अवस्था बनेको उहाँको भनाइ थियो।

नगर उपप्रमुख उमा प्रधानले विपद्ले मेलम्चीलाई पटक–पटक चुनौती दिइरहेको उल्लेख गर्दै पूर्वानुमान हेरेर सम्भावित जोखिमबारे जानकारी लिन सक्ने माध्यमका रूपमा इन्स्ट्यान्ट पोर्टल उपयोगी बनेकाे बताउनुभयाे। यद्यपि पूर्वसूचनालाई गाउँ–टोलसम्म प्रभावकारी रूपमा पुर्‍याउनु अझै चुनौती रहेको उहाँको भनाई थियाे ।

कार्यशालाले स्थानीय तहका अधिकारी तथा जनप्रतिनिधिको पूर्वसूचना प्रणालीसम्बन्धी क्षमता अभिवृद्धि गर्दै विपद्को जोखिम न्यूनीकरण, सूचना साझेदारी, समन्वय तथा तथ्यमा आधारित निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको सञ्चालन मेलम्ची नगरपालिकाको विपद् शाखा प्रमुख सबुना गमालले गर्नुभएकाे थियाे ।

Leave a Reply