स्रष्टा सम्मानसँगै काव्य गुञ्जियो जल्पादेवी माविमा

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका–२ स्थित श्री जल्पादेवी माध्यमिक विद्यालय एक दिनका लागि साहित्य, कला र संस्कृतिको साझा थलो बनेको छ। सास्कको आयोजनामा सम्पन्न “सांस्कृतिक काव्य उत्प्रेरणा उत्सव–२०८३” मा विद्यार्थीदेखि वरिष्ठ स्रष्टासम्म एउटै मञ्चमा उभिएर सिर्जना, सम्मान र सांस्कृतिक चेतनाको सन्देश दिएका छन्।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले आफ्ना मौलिक कविता वाचन गर्दै सिर्जनात्मक प्रतिभा प्रस्तुत गरेका थिए भने विभिन्न जिल्लाबाट सहभागी साहित्यकार, लेखक, पत्रकार, शिक्षाविद् र समाजसेवीहरूले साहित्य र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमको आवश्यकता औँल्याएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण खतिवडाको अध्यक्षता तथा नगेन्द्र प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ समाजसेवी रामबाबु नेपाल, संस्कृति विज्ञ डा. इन्दुल केसी, प्राध्यापक तथा सास्कका संस्थापक संरक्षक डा. सावित्री श्रेष्ठ, शीतल गिरी र अन्तर्राष्ट्रिय सञ्चार विज्ञ स्वर्णिमा श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा साहित्यकार श्रीराम खतिवडालाई विशेष सम्मान गरिएको थियो। विद्यालयका प्राचार्य हरिहर आचार्यले उहाँको साहित्यिक योगदानमाथि प्रकाश पार्नुभएको थियो भने सम्मान ग्रहणपछि खतिवडाले आफ्नो अनुभव र धारणा व्यक्त गर्नुभएको थियो।

उक्त अवसरमा सास्कका स्रष्टाहरूले काव्य वाचन गरेका थिए। प्रविधि विज्ञ स्पन्दन श्रेष्ठले संस्थाका २०८३ सालका सम्मान तथा पुरस्कारहरूको घोषणा गर्नुभएको थियो। साथै, डा. इन्दुल केसी, ज्ञानु नेपाल र देवराज ढकाललाई सास्कको आजीवन सदस्यता प्रदान गरिएको थियो भने अन्तर्राष्ट्रिय ज्ञान तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याउनुभएकी स्वर्णिमा श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो।

सहभागीहरूले यस्ता कार्यक्रमले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण मात्र नभई नयाँ पुस्तामा सिर्जनात्मक सोच र साहित्यप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply