सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याई पालिका प्रथम हुन सफल एक छात्रालाई उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने भएको छ। हालै प्रकाशित कक्षा १२ को परीक्षामा ३.६१ जीपीए (GPA) प्राप्त गरी इन्द्रावती गाउँपालिकाभरिकै सामुदायिक विद्यालयतर्फ प्रथम हुन सफल चण्डेश्वरी माध्यमिक विद्यालय (इन्द्रावती–१०) की छात्रा गीता तोलाङ्गेलाई सो सहयोगको घोषणा गरिएको हो। अभियान्ता गिरीले इन्द्रावती गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष श्याम बहादुर गिरी मार्फत साे सहयाेग हस्तान्तरण गर्नुभएकाे हाे ।
शैक्षिक एवं सामाजिक अभियन्ता मोहन गिरीले जेहेन्दार छात्रा तोलाङ्गेको उच्च शिक्षामा सहयोग पुर्याउने उद्देश्यले नगद रु ५ हजार पुरस्कारसहित ब्याचलर (स्नातक) तह अध्ययन गर्दा लाग्ने सम्पूर्ण कलेज शुल्क आफूले नै व्यहोर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ। ‘शिक्षाको अपरिहार्यता, शैक्षिक सुधारमा हाम्रो ऐक्यवद्धता’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै अभियन्ता गिरीले उक्त घोषणा गर्नुभएको हो। सामाजिक तथा शैक्षिक अभियानका अभियन्ताहरूले एक कार्यक्रमका बीच छात्रा तोलाङ्गेलाई बधाई ज्ञापन गर्दै पुरस्कार वितरण तथा छात्रवृत्तिको घोषणा गरीएकाे हाे ।
ग्रामीण क्षेत्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरू आर्थिक अभावकै कारण उच्च शिक्षा पाउनबाट वञ्चित हुन नपरोस् भन्नका लागि यस्तो सहयोग गरिएको र यसले पालिकाको शैक्षिक सुधारमा थप टेवा पुग्ने अभियन्ता गिरीले विश्वास व्यक्त गर्नुभएकाे छ । छात्रा गीता तोलाङ्गेलाई बधाई ज्ञापन गर्दै उहाँको उज्ज्वल भविष्यको कामना गर्नुभएकाे छ । शिक्षा क्षेत्रमा पुर्याएको यो योगदानको लागि अभियन्ता मोहन गिरी प्रति स्थानीय स्तरमा प्रशंसा भइरहेको छ।
