इन्द्रावती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा गरिएको छ। सोमबार गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा गाउँपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र कुमार खातीको सभापतित्वमा आयोजित विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कानाथ नेपाल, उपाध्यक्ष शोभाना तामाङ, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदी, विभिन्न वडाका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षा क्षेत्रमा क्रियाशील साझेदार संस्थाका प्रतिनिधिहरू, शिक्षक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालले यो घोषणा केवल औपचारिकताका लागि नभई पूर्ण कार्यान्वयनका लागि गरिएको बताउनुभयो। उहाँले समृद्ध पालिका निर्माणका लागि यस्ता अभियान आवश्यक रहेको उल्लेख गर्दै संविधानमा उल्लेखित अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सबैको सामूहिक प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। आगामी नेतृत्वका लागि दायित्व मात्र थोपर्ने नभई कार्यान्वयनयोग्य, दिगो र स्थायी योजनाहरू अघि बढाउन गाउँपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले सबैको उद्देश्य एउटै भएकाले यस अभियानलाई आफ्नो कर्तव्य ठानेर दिगोपनासहित अघि बढाउन सबै पक्षले सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभयो। उहाँले बजेट व्यवस्थापन लगायत आवश्यक पक्षहरूमा गाउँपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
विशेष अतिथि तथा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदीले संविधानमा उल्लेखित शिक्षासम्बन्धी अधिकार अक्षरशः कार्यान्वयन हुनुपर्ने बताउनुभयो। अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार सन् २०८५ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उहाँले शिक्षा मानव जीवनको मौलिक हक भएको बताउनुभयो। उहाँका अनुसार हालसम्म जिल्लाका आठ वटा स्थानीय तहले निःशुल्क तथा अनिवार्य शिक्षा स्थानीय तह घोषणा गरिसकेका छन् भने अन्य स्थानीय तहहरू पनि प्रक्रियामा रहेका छन्।
गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले घोषणा गर्नुभन्दा यसको कार्यान्वयन चुनौतीपूर्ण हुने बताउँदै शिक्षा केवल पाठ्यक्रममा सीमित नभई जीवन जिउने कला सिकाउने माध्यम बन्नुपर्ने धारणा राख्नुभयो। गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयको सुधार र समीक्षा आवश्यक रहेको उहाँले बताउनुभयो।
वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले शिक्षाका लागि पर्याप्त बजेट विनियोजन, शिक्षकहरूको क्षमता अभिवृद्धि र शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो। वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले शिक्षा नागरिकको मौलिक अधिकार भएकाले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताउँदै घोषणासँगै कार्यान्वयनको चुनौती र जिम्मेवारी पनि थपिएको उल्लेख गर्नुभयो।
राजनीतिक दलका प्रतिनिधिहरूले पनि कार्यक्रमप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रावती गाउँपालिका उपसभापति दिनेश थापाले गाउँपालिकाको यस अभियानलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाली कांग्रेसका इन्द्रावती गाउँपालिका सभापति जीवनकुमार थापाले प्रतिबद्धता व्यक्त गर्नुभन्दा पनि यसलाई आफ्नो कर्तव्य ठानेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाँले गाउँपालिकाले नागरिकका गाँस, बास र कपासको व्यवस्थापन गर्न सके शैक्षिक क्षेत्रमा विद्यार्थीको संख्या वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो। साथै बालबालिकालाई नैतिक शिक्षा, मातृभूमिप्रतिको कर्तव्य र व्यवहारिक शिक्षा दिन आवश्यक रहेको उल्लेख गर्दै पढाइसँगै सीपमूलक शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
नेकपा एमालेका गाउँपालिका अध्यक्ष डबले लामाले गाउँपालिकाले सञ्चालन गरेको उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमले विद्यार्थीहरूमा मेहनत, प्रतिस्पर्धा र राम्रो नतिजा हासिल गर्ने प्रेरणा जगाउने काम गरेको बताउनुभयो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का इन्द्रावती गाउँपालिका अध्यक्ष देवेन्द्र दाहालले संविधानले दिएको अधिकारअनुसार ढिलै भए पनि गाउँपालिकाका बालबालिकाले निःशुल्क शिक्षा पाउने अधिकार सुनिश्चित भएको बताउनुभयो। तर यसको कार्यान्वयनमा जटिलता आउन सक्ने भन्दै विद्यालयमा विद्यार्थीको आकर्षण किन घटिरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले निःशुल्क भन्दैमा सेवा प्रवाह कमजोर हुन्छ भन्ने सोच हटाउनुपर्ने तथा गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि र शिक्षकहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै पढाउने नीति ल्याउनुपर्ने सुझाव दिनुभयो।
कार्यक्रमका सभापति रविन्द्र कुमार खातीले गाउँपालिकाभित्रका सबै पक्षको सहकार्य र प्रतिबद्धताका कारण यो महत्वपूर्ण घोषणा सम्भव भएको बताउँदै सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै सबै वडाहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले स्वागत मन्तव्य राख्दै विद्यालय उमेरका बालबालिकालाई विद्यालयसम्म ल्याई निःशुल्क शिक्षा प्रदान गर्न गाउँपालिका प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।
शिक्षा शाखा प्रमुख मीन धामीका अनुसार गाउँपालिकाका विभिन्न वडामा गरिएको ६ हजार ८९५ घरधुरी सर्वेक्षणमा ४ देखि १३ वर्ष उमेर समूहका ४ हजार ५०९ बालबालिका भेटिएका थिए। तीमध्ये ७७ जना विद्यालय बाहिर रहेकोमा हाल उनीहरूलाई समेत गाउँपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा भर्ना गर्न सफल भएको जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरूको तर्फबाट सिम्पालेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज खरेल, साझेदार संस्थाहरूको तर्फबाट केदारबहादुर तामाङ तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको तर्फबाट जनसुधार आधारभूत विद्यालयका अध्यक्ष सूर्यनाथ आचार्यलगायतले निःशुल्क तथा अनिवार्य शिक्षा अभियान सफल बनाउन पूर्ण सहयोग र प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका अवसरमा इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा रहेको सिंहमती माध्यमिक विद्यालयले स्वागत गीत तथा ऐसेलु खर्क माध्यमिक विद्यालय र नवलपुर माध्यमिक विद्यालयका विद्यार्थीहरूले विभिन्न सन्देशमूलक गीत हरूमा आआफ्नो प्रस्तुति समेत प्रस्तुत गरेका थिए।
यस्तै कक्षा ८ को परीक्षामा गाउँपालिकामा उत्कृष्टजीपीए ल्याएका सुशान्त पुर्कोटी र एलिना तामाङलाई गाउँपालिकाको तर्फबाट २५००० नगद र प्रमाणपत्र सहित सम्मान समेत गरिएको छ। यस्तै कक्षा १२ मा उच्चतम जिपीए ल्याएर गाउँपालिकामै प्रथम भएका गीता तोलाङ्गेलाई वडा नम्बर २ का अध्यक्ष श्यामबहादुर गिरीले नगद ५,००० सहित सम्मान गर्नुका साथै तोलाङ्गेले चाहेको विषय पढ्न चाहेको कलेजमा निःशुल्क अध्यापनको लागि सहयोग गर्ने पनि जानकारी गराइएको छ।




