सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीस्थित श्री इन्द्रध्वज गणको आयोजनामा “अभ्यास मनसुन–६” कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न वडाका वडाध्यक्षहरू, एन.सी.सी.का विद्यार्थी भाइबहिनीहरू लगायतको उपस्थिति रहेको थियो ।
मनसुनजन्य विपद्का समयमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै आयोजना गरिएको अभ्यास कार्यक्रममा नदीमा फसेका व्यक्तिहरूको उद्धार, पहिरोमा परेर घाइते तथा अलपत्र परेकाहरूको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा प्राथमिक उपचार सम्बन्धी अभ्यास प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा प्राकृतिक तथा कृत्रिम सामग्रीहरूको प्रयोग गरी विपद्का समयमा कसरी तत्काल उद्धार तथा राहत कार्य गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक अभ्यास समेत गरिएको थियो । उद्धार टोलीले डोरी, स्ट्रेचर, लाइफ ज्याकेट लगायत सामग्री प्रयोग गरी नदी तथा पहिरो प्रभावित क्षेत्रबाट घाइतेहरूको सुरक्षित उद्धार गर्ने अभ्यास प्रस्तुत गरेका थिए ।
त्यस्तै घाइतेहरूको प्रारम्भिक उपचार, सुरक्षित ढुवानी तथा आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा समेत जानकारी दिइएको थियो । कार्यक्रममा सहभागीहरूले विपद्का समयमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको समन्वय अत्यन्त महत्वपूर्ण हुने बताएका थिए ।
कार्यक्रमले मनसुनजन्य विपद् व्यवस्थापन, उद्धार तथा जनचेतना अभिवृद्धिमा सहयोग नगरप्रमुख आइतमान तामाङले विश्वास व्यक्त गर्नुभयो ।



