समृद्ध समाज निर्माणको मेरुदण्ड शिक्षा हो: नगर प्रमुख तामाङ

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची, सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पछिल्लो समय नगरपालिकाभित्र शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार आएको बताउनुभएको छ।
​मेलम्ची नगरपालिका वडा नं. १० स्थित श्री शीतलादेवी माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रमुख तामाङले उक्त कुरा बताउनुभएको हो।

​कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख तामाङले शिक्षा नै समृद्ध समाज निर्माणको मुख्य मेरुदण्ड भएको धारणा राख्नुभयो। “शिक्षामा गरिएको लगानी कहिल्यै खेर जाँदैन,” उहाँले भन्नुभयो, “नगरपालिकाले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि शैक्षिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण र गुणस्तरीय सिकाइमा कुनै कञ्जुस्याइँ गरेको छैन र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइने प्रतिबद्धता व्यक्त गर्दछु।”

​कार्यक्रममा नगरपालिकाकी उपप्रमुख उमा प्रधानले पनि नगरको शैक्षिक विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
​वार्षिकोत्सव समारोहमा वडा नं. ५ का वडाध्यक्ष राजु रायमाझी, वडा नं. ९ का वडाध्यक्ष किरण दीप खड्का, वडा नं. १० का वडाध्यक्ष अमृत खनाल, तथा निवर्तमान वडाध्यक्ष भक्त बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर चापागाईंले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो। सोही कार्यक्रममा कक्षागत रूपमा र विधागत रुपमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव खड्काको अध्यक्षतामा भएको थियो।

राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूको ​विविध सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापसहित भव्य रूपमा मनाइएको उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयको शैक्षिक गतिविधि र भावी योजनाका बारेमा समेत छलफल गरिएको थियो।

Leave a Reply