नवलपुर । नवलपुर भ्याली स्कुल, इन्द्रावती–४ को वार्षिक उत्सव, अभिभावक दिवस, सम्मान तथा दीक्षान्त समारोह भव्यतापूर्वक सम्पन्न भएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख बैकुण्ठ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका चार व्यक्तित्वलाई सम्मान गरिएको छ।
कार्यक्रमका क्रममा असमान लोप्चन (कला), दीपक खत्री (पत्रकारिता), चन्द्र प्रसाद न्यौपाने (साहित्य) र मनोज सिङ (शिक्षा) विधामा सम्मान गरिएको विद्यालयले जनाएको छ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले शिक्षा ज्ञानको वास्तविक भण्डार भएको बताउँदै विद्यालय, अभिभावक र विद्यार्थीका चाहना फरक–फरक भए पनि तिनलाई एउटै लक्ष्यमा जोड्न सके मात्र गुणस्तरीय शिक्षा सुनिश्चित हुने धारणा राख्नुभयो । उहाँले विद्यार्थीको प्रतिभा दविन नदिन, उनीहरूको चाहना र क्षमता पहिचान गरी अघि बढ्न वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । साथै बालबालिकाको अवस्थाबारे अभिभावकले निरन्तर चासो राख्नुपर्ने उल्लेख गर्दै आजको कार्यक्रम हेर्दा अनुशासित, नैतिकवान विद्यार्थी उत्पादनमा विद्यालय अग्रसर भएको बताउनुभयो ।
विद्यालय परिवारले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी वर्षमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।
