रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकाका आँखाका समस्या भएका बिरामीहरुले अब नवलपुरबाटै सेवा पाउने भएका छन् । आज नवलपुर स्थित नवलपुर प्राथमिक अस्पतालमा आँखा उपचार केन्द्रको उद्घाटन भए सँगै आँखाको समस्या लिएर चौतारा मेलम्ची जान पर्ने समस्या हल हुने भएको हो । इन्द्रावती गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको समन्वयमा नवलपुरमा आँखा उपचार केन्द्रको आज एक कार्यक्रमका गरी गाउँपालिकाका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको हो ।
केन्द्रको उद्घाटन गर्दै अध्यक्ष नेपालले अब आँखाका बिरामीहरुले सहज रुपमै सेवा लिन सकिने र धेरै खर्च गरेर अन्यत्र जान पर्ने बाध्यता टरेको बताउनुभयो । गाउँपालिका आफैले पनि आँखा जाँच केन्द्र स्थापना गर्नुपर्ने अवस्था आइसकेको समयमा तिलगंगा आँखा प्रतिष्ठानले यो महत्वपूर्ण काममा सहयोग गरेको प्रति आभार ब्यक्त गर्दै प्रतिष्ठानललाई धन्यबाद ज्ञापन गर्नुभयो । साथै केन्द्र सञ्चालनको दिगो र स्थायित्वका लागी गाउँपालिका प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
त्यस्तै तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक नवीन राईले यो आँखा केन्द्र गाउँपालिका सँगको समन्वयमा सञ्चालनमा आएकोले मेलम्ची र चौतराको भन्दा फरक रहेको बताउनुभयो । साथै आँखाको दृष्टि सँग मानिसको आयु जोडेको हुने भएकोले यो एक महत्वपूर्ण मानब अंग भएकोले यसको सुरक्षा आवश्यक रहेको पनि बताउनुभयो ।
गाउँपालिका अन्य क्षेत्र सँग सँगै स्वास्थ्य क्षेत्रमा पनि अघि बढेको र अझ यसमा सबैको सहयोग आवश्यक रहेको गाउँपालिका उपाध्यक्ष सोभना तामाङले बताउनुभयो ।
गाउँपालिकाले छोटो समयमा धेरै नयाँ र फरक खालका कामहरू सुरुवात गरेको र जसमा आँखा जाँच केन्द्रको सुरुवात पनि पर्ने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले जानकारी दिनुभयो ।
स्थानीय स्तरमै नागरिकलाई आधारभुत स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्ने र सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउने जनप्रतिनिधिहरुको चाहाना अनुरुप काम भइरहेकोले केन्द्रको स्थापना भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।
अब केन्द्र मार्फत नागरिकले दृष्टिदोष, मोतिबिन्दु, आँखा पाकेको जस्ता समस्याको जाँच हुनुका साथै औषधी र चस्मा समेत बितरण हुने केन्द्रका नेत्र सहायक अनिष सापकोटाले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक नबिन राई, गाउँपालिका उपाध्यक्ष सोभना तामाङ, गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति राजेन्द्रमान ताल्चभँडेल, नवलपुर प्राथमिक अस्पताल व्यवस्थापन समितिका सदस्य एवं वडा नं ४ का वडा अध्यक्ष क्षेत्र वहादुर तामाङ, इन्द्रावती सामुदायिक सेवाकेंद्र संयोजक विश्वराम श्रेष्ठ, नपलपुर प्रथमीक अस्पतालका प्रमुख डा. धमेन्द्र पाण्डेय, तिलगंगा आँखा प्रतिष्ठान कार्यक्रम अधिकृत नविन राजवंशी, जिल्ला सामुदायीक आँखा केन्द्रका इन्र्चाज रुपा लुईटेल लाइन्स क्लब अफ काठमाडौका सक्तसञ्चारका लक्ष्मण जोशी वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिभिन्न पार्टीका पार्टीप्रतिनिधीहरु लगायतको सहभागी थियो ।