मेलम्ची । “एक जिल्ला, एक स्वस्थ शहर” कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम आज मेलम्ची नगरपालिकामा सम्पन्न भएको छ । नगर प्रमुख आइतमान तामाङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र नगरपालिकासँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वस्थ शहर निर्माणलाई प्रदेश सरकारको प्राथमिक कार्यक्रमको रूपमा अघि बढाइएको बताउनुभयो । उहाँले “स्वास्थ्य केवल उपचारमा सीमित विषय नभएकाले यो जीवनशैली, वातावरण, शिक्षा र स्थानीय शासनसँग प्रत्यक्ष जोडिएको समग्र विकासको आधार रहेको भन्दै स्वस्थ शहर अवधारणालाई व्यवहारमा उतार्न स्थानीय तहको सक्रियता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
मन्त्री थापाले प्रदेश सरकार आगामी दिनमा स्वास्थ्य मैत्री नीति, पूर्वाधार विकास, सरसफाइ अभियान, सुरक्षित खानेपानी तथा जनचेतनामूलक कार्यक्रमहरूलाई थप सुदृढ बनाउँदै लैजाने बताउनुभयो । उहाँले स्थानीय तहहरूसँग सहकार्य गर्दै दीर्घकालीन रूपमा ‘स्वस्थ बागमती प्रदेश’ निर्माण गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा उहाँले आगामी यस अघि धुलिखेल नगरपालिका स्वस्थ्य शहरका रुपमा घोषणा भइसकेको र आगामी दिनमा मेलम्ची नगरपालिका सँगै चन्द्रागिरी नगरपालिका र हेटौडा उपमहानगरपालिका लाई समेत ‘स्वस्थ शहर’ घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो। यी नगरपालिकाहरूलाई नमुना स्वस्थ शहरका रूपमा विकास गर्दै प्रदेशभर विस्तार गर्ने योजना रहेको उहाँको भनाइ थियो ।
कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख आइतमान तामाङले मेलम्चीलाई स्वस्थ शहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरपालिकाले नीति, कार्यक्रम र बजेट निर्माण गरिरहेको भन्दै अब यसलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने चरणमा रहेको बताउनुभयो । साथै उहाँले सरसफाइ, सुरक्षित खानेपानी, वातावरण संरक्षण र स्वास्थ्य सेवा विस्तारमा नगरपालिकाले विशेष ध्यान दिइरहेको उल्लेख गर्नुभयो ।
प्रमुख तामाङले स्वस्थ शहर निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकबीच सहकार्य आवश्यक रहेको औंल्याउँदै “सबैको साझा प्रयासले मात्र मेलम्चीलाई नमुना स्वस्थ शहर बनाउन सक्ने धारणा राख्नुभयो ।
विशेष अतिथि धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगमले धुलिखेललाई नेपालको पहिलो तथा एसियाको दोस्रो स्वस्थ शहर घोषणा गरिएको अनुभव साझा गर्दै दिगो योजना, समुदायको सहभागिता र स्वच्छ वातावरणको महत्वबारे जानकारी दिनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान ले शुभकामना मन्तव्य राख्दै स्वस्थ र समृद्ध नगर निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वक्ताहरूले स्वस्थ शहर निर्माणका लागि सरसफाइ, पोषण, वातावरण संरक्षण, मानसिक स्वास्थ्य तथा सुरक्षित खानेपानी जस्ता विषयमा एकीकृत प्रयास आवश्यक रहेको औंल्याउनुभएको थियो । कार्यक्रममा सहभागीहरुले मेलम्चीलाई स्वास्थ्य, सफा र व्यवस्थित नगरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन बागमती प्रदेशका हरि भूषाल, धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप के.सी., जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईं तथा मेलम्ची नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठले स्वस्थ शहरका आधार, जिल्लाको वर्तमान स्वास्थ्य अवस्था तथा नगर स्तरको अवस्थाबारे प्रस्तुतीकरण गर्दै ‘स्वस्थ शहर’ घोषणाको अवधारणा र यसको कार्यान्वयन पक्षका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । बजगाईंले निर्देशिका बारे जानकारी दिदैं नगर प्रमुखको संयोजकत्वमा समिति निमार्णको प्रक्रियाबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन बागमती प्रदेशका हरि भूषाल,धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप के.सी.जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईं,मेलम्ची नगरपालिकाका प्रमुख परशुराम श्रेष्ठले यसका आधार,जिल्लाको अवस्था र नगरको अवस्था बारे जानकारी गराउँदै स्वस्थ्य शहर घोषणाको अवधारणा बारे बताउनुभएको थियो ।




