जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाई 

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

दुवाचौर । सिन्धुपाल्चोकको दुवाचौरमा सम्पन्न जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०८२ को उपाधि योङ स्टार युवा क्लबले हात पारेको छ। 

मेलम्ची नगरपालिकाको सहयोग र नमुना युवा क्लब छापको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा बनकाली युवा क्लब जुगल लाई ३-१ को सेटमा पराजित गर्दै योङ स्टारले उपाधि सँगै १ लाख नगद पुरस्कार प्राप्त गरेको छ । फाइनलमा पराजित बनकाली युवा क्लबले ६० हजारमा चित्त बुझाएको छ। रोमाञ्चक फाइनल खेलमा १-० ले पछि परेको योङ स्टारले उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ सेट आफ्नो पक्षमा पारेपछि उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । 

यस्तै तेस्रो स्थान हासिल गरेको आयोजक टोलीले ३५ हजार र सान्त्वना भएकाे इन्द्रावती गाउँपालिकाले १५ हजार नगद प्राप्त गरेको प्रतियोगिता संयोजक कविन तामाङले जानकारी दिनुभयो । 

चैत्र १६ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाभित्रका आठवटा टोलीले सहभागिता जनाएको थियो। प्रतियोगिता को समापन आज राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरूको विविध सांस्कृतिक प्रस्तुति सहित भएको आयोजकले जनाएको छ। 

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलकुदले युवाहरुलाई अनुशासित, स्वस्थ र जिम्मेवार बनाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, विशिष्ट अतिथि उपप्रमुख उमा प्रधानले खेलकुदले समाजमा एकता र भाइचारा बढाउने बताउँदै युवाहरुलाई सकारात्मक गतिविधिमा जोड्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो ।

पुरस्कार वितरण कार्यक्रममा मेलम्ची–७ का अध्यक्ष पासाङ दोङ,मेलम्ची ६ का अध्यक्ष प्रेम तामाङ,नेपाली काङ्ग्रेस मेलम्ची नगर सभापति बसन्त गुरुङ,नेपाली काङ्ग्रेसका स्थानिय नेता ज्यानबहादुर तामाङ,दिप तामाङ,एमालेका वडा कमिटी अध्यक्ष ज्ञानु श्रेष्ठ,गणेश तामाङ  लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको खेल संयोजक कबिन वाइबाले जानकारी दिनुभयो  । प्रतियोगितामा ८ वटा टोलिको सहभागीता रहेको थियो  । क्लबका अध्यक्ष बुदान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कलाकारहरु ओम तामाङ,सन्ध्या तामाङ,अनिशा तामाङ लगायतका कलाकार हरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply