मेलम्ची नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १४ प्रस्ताव सर्वसम्मत पारित

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाको नगर सभाको उन्नाइसौं अधिवेशन नगरप्रमुख  आइतमान तामाङको अध्यक्षतामा सम्पन्न भएको छ ।
अधिवेशनले नगरपालिकाको समग्र प्रशासनिक, आर्थिक तथा विकास प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित आवश्यक ऐनहरू संशोधन गर्दै विभिन्न १४ वटा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को प्रतिस्थापन विधेयक २०८२, मेलम्ची नगरपालिकाको विज्ञापन (व्यवस्थापन तथा नियमन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ तथा आर्थिक वर्ष २०८२÷८३ को विनियोजन ऐन संशोधित विधेयक, २०८२ सर्वसम्मतिले पारित गरेको थियो ।
अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख आइतमान तामाङले पारित ऐन तथा प्रस्तावहरूले नगरपालिकामा सुशासन कायम गर्न, वित्तीय अनुशासन मजबुत बनाउन र नगर विकासलाई योजनाबद्ध रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपप्रमुख उमा प्रधानले  नगरपालिकाको विनियोजन ऐन २०८२को संशेधन विधेयक २०८२ प्रस्तुत गर्नुभयो । नगर सभाबाट पारित ऐन तथा बजेट संशोधनले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितालाई आत्मसात गर्दै नगरपालिकाको विकासलाई दिगो दिशामा लैजान सबै जनप्रतिनिधि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले नगरपालिकाको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समिति संयोजक कृष्णमुरारी चौलागाईंले लेखा समिति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै नगरसभाले रिक्त रहेको न्यायीक समिति सदस्यमा मेलम्ची ७का वडा सदस्य टकबहादुर घलेलाई नियुक्त गरि पुर्णता दिइएको छ । 

Leave a Reply