नवलपुर ।
इन्द्रावती गाउँपलिकाले गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभा हल नवलपुरमा सम्पन्न गाउँसभाले इन्द्रावती गाउँपालिकालाई नगरपालिका बनाउने सहित ३ ओटा कार्यविधि तथा ४ ओटा महत्वपूर्ण बिधेयक सर्वसम्मतिले पारित गरेको छ ।
गाउँसभामा न्याय समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले प्रस्तुत गर्नुभएको इन्द्रावती गाउँपालिकालाई नगरपालिका बनाउने सम्बन्धी प्रस्ताव पनि सहित अन्य प्रस्तावहरु पारित भएको हो ।
त्यस्तै उपाध्यक्ष शोभना तामाङले प्रस्तुत गर्नुभएको आ.व. २०८२/८३ का लागि गाउँपालिकाको संशोधित बजेट, प्रवक्ता शशिनाथ आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व विधेयक २०८२, बिधयन समिति संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले सभामा प्रस्तुत गर्नुभएको केही स्थानीय एन संसोध गर्न बनेको बिधेयक सर्वसम्मतिले पारित गरेको छ ।
त्यस्तै सामाजिक बिकास समिति संयोजक वडा नम्बर ७ का अध्यक्ष रबिन्द्र कुमार खातीले प्रस्तुत गर्नुभएको बेरुजु फस्र्यौट कार्यबिधी २०८२, लेखा समिती संयोजक तथा वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले प्रस्तुत गर्नुभएको लेखा समिती गठन तथा कार्यलय सञ्चालन कार्यबिधि २०८२, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचीव मनहरि बरालले प्रस्तुत गर्नुभएको आर्थिक एन संशोधन गर्न बनेको विधेयक पनि सर्वसम्मतिले पारित गरेको छ ।
शिक्षा, सडक, सिंचाइ, खानेपानी, जग्गा वर्गीकरण, पुर्वाधार लगायतका विषयमा शून्य समयमा गाउँसभा सदस्यहरुबाट प्रश्न सल्लाह र सुझावको रुपमा आएक कुराहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउँदै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । साथै जग्गा वर्गीकरणको सवालमा उठेका प्रश्नहरुको सभाका सचीव तथा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मनहरि बरालले जवाफ दिनुभएको थियो । सभाको अन्त्यमा सभामा प्रस्तुत बिषयहरुमा राय सुझाव लिइएको थियो ।
गाउँसभाको अवसरमा पालिकाले २ जनालाई सम्मान गरेको छ । नेपाल आइडल सिजन ६ का बिजेता गंगा सोनाम र नेपाल साइकल यात्री माधव कुइकेललाई सम्मान गरेको हो ।













