थकनी । श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको ६५ औं जन्म जयन्ती तथा २७ औं अभिभावक दिवस आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)ले विद्यालयको विकासको लागी सधैं आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । उहाँले विद्यालको समस्या समाधानका लागी आफु निरन्तर लागिरहेको भन्दै आफु बोल्ने भन्दा पनि काम गरेर देखाउने ब्यक्ति भएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी तामाङले बिद्यालय शिक्षामा लगानी गर्नका लागी आफुले खबरदारी गरिरहेको बताउनुभयो । मंचमा आउने बोल्ने र कामको नाममा सिन्को नभाच्नेहरुले विद्यालय शिक्षामा लगानी नगरेको बताउनुभयो । खानेपानी,शिक्षा,स्वास्थ्य,सडकको अवस्था हेलिकप्टरमा हिड्नेलाई थाहा नहुने भन्दै आफु सरकारमा नभएका कारण सिन्धुबासीको पिडा बागमती प्रदेश सरकार सम्म पुग्न नसकेको बताउनुभयो । यो देशको विकास र समृद्धिको लागी आफ्नो धर्मको संरक्षण गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका बिशेष अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले विद्यालयमा ज्ञान मात्र नभएर शिक्षा संस्कार र संस्कृति पनि सिक्ने भएको हुँदा विद्यालयलाई विद्याको मन्दिरको रुपमा पुज्ने गरेको बताउँनुभयो । उहाँले नगरपालिकाले शिक्षामा उल्लेख्य प्रगती गरेको बताउँदै आगामी बजेटमा पनि विद्यालयको भौतिक तथा सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उपप्रमुख प्रधानले तीन तहको सरकारको समन्वयमा नगरपालिका भित्र संचालन भएका विद्यालय हरु समुदायको अबस्था हेरेर दरबन्दी शिर्जना गरेर आबश्यक परेमा राहत शिक्षक समेत राखेको प्रस्ट पार्नुभयो । उप प्रमुख प्रधानले नगरपालिकाले लगानी गरे अनुसार उचित नतिजा प्राप्त नगरेकाले यसलाई अझ उत्कृष्ट पार्दै नतिजा हाँसिल गर्न सम्पुर्ण अबिभावक र विद्यार्थीको भुमिका हुने बताउनुभयो । उहाँले यो भेगलाई सहज हुने गरि स्वास्थ चौकी , क्याम्पस तयारी अबस्थामा रहेकाले छिटै बाँकी कामकालागी आबश्यक खर्च ब्यबस्थापन गरेर सुचारु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष सन्जीव तामाङले सिन्धुभ्याली क्याम्पसले सिन्धुबेल्ट्को प्रतिनिधित्व नगर्ने बताउनुभएको छ । काठमाडौको सिमामा रहेको क्याम्पसको नामनै भोटेचौर क्याम्पस राख्न चुनौती दिनुभयो । आज कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको बार्षिकोत्स्व कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले क्याम्पसको नाम नै परिवर्तन गर्न सुझाव दिनुभयो ।
उहाँले सिन्धुबेल्टको विद्यार्थीलाई समेट्नेगरी सेण्टरमा क्याम्पस राख्न जोडदार माग गर्नुभयो । विद्यार्थी काठमाडौ पलायन भए भन्ने अनि किन पलायन भए भनेर कारण नखोजिदा अहिले विद्यार्थीले निर्धक्क पढ्न नपाएको बताउनुभयो । अध्यक्ष तामाङले क्याम्पसको परिक्षा यहीँ हुनेगरी नितिगत रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो । स्वास्थ्य चौकी र हस्पिटल छुट्टाछुट्टै भएकाले पिप्लेको स्वास्थ्य चौकी यथास्थानमा राख्न आफु जस्तोसुकै परिस्थिति संग जुध्न तयार रहेको बताउनुभयो । नगर अस्पताल संचालन गर्ने कुरा खुशीको कुरा भएपनि स्वास्थ्य चौकी सार्ने कुराले अहिले आफ्नो नगरपालिका संग मनमुटाव सिर्जना भएको समेत अध्यक्ष तामाङले उद्घोष गर्नुभयो । उहाँले भोलिका दिनमा आफुले बोलाएको अवस्थामा सडकमा उत्रीन समेत आह्वान गर्नुभयो ।
विद्यालयले भब्य कार्यक्रम गरेकाले कार्यक्रम सफल बनाउन लागी पर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यालयको छात्राबास निर्माण,खेलमैदान, विद्यालयको वरिपरि पक्की वाल निर्माण गर्नुपर्ने भएकाले नगरपालिका र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । वडाको मात्र बजेटले नपुग्ने भएकाले नगरपालिका, प्रदेश र अन्य निकायलाई ध्यानाकर्षण गर्नपरेको बताउनुभयो ।
कार्यक्रममा इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कडेलको टिमले आफ्नो प्रस्तुति प्रस्तुत गरेर दर्शकहरु लाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बद्री चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
