अहिलेको आवश्यकता जनमुखी र गाउँमुखी विकास हो : मुख्यमन्त्री बानियाँ

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले देशमा गरिखानेको दिन सुरुभएको बताउनुभएको छ । उहाँले ठगी खाने र मागी खानेको जमाना गएकाले अब हरेक जनता आत्मनिर्भर बनाउने गरि प्रदेश र स्थानीय तहले काम गरिरहेको बताउनुभयो । मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित गुफाडाडामा आयोजित छैटौं जलवायु सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले जनताको शासन मन नपर्नेहरुले गाजाको तालमा लठ्ठ भएर जेनजीको आन्दोलन हाइज्याक गरेर संसद भवन,सिंहदरबार,अदालत जलाएको आरोप लगाउनुभयो ।

उहाँले राजनीतिको र राजनीतिक दलको नाममा भ्रमछर्नेहरु गाउँ छिर्न सक्ने भन्दै सचेत हुनपर्ने बताउनुभयो । मुख्यमन्त्री बानियाँले अहिले निर्वाचन हुने वातावरण नभएको भन्दै सरकार निर्वाचन गर्नेगरि अगाडि नबढेको बताउनुभयो । जनतामा युट्युब,फेसबुकबाट भ्रम छरेर दिगभ्रमित गरेकाले जेलबाट छुटेका कैदीहरुबाट शहर बजार असुरक्षित बनेको बताउनुभयो । विकास लाई ब्यबस्थित गरेर लैजाने मुख्यमन्त्री बानियाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले जनमुखी,आयमुखी,गाउँमुखी विकास अहिलेको आवस्यकता भन्दै स्थानीय र प्रदेश सरकार मिलेर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सीप तालिम र प्रविधि हस्तान्तरण गर्दै ७०/३० को कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

लहडमा लागेर सिंहदरबार ,अदालत जलाउनेहरु सामाजिक संजालमा भ्रम छरेर देशमा केहि नभएको भाष्य निर्माण गरेपनि पुराना दलको विकल्प नभएको बताउनुभयो । हुँदा खानेलाई हुने खाने बनाउने र हुनेखानेले गरेको उद्योग कलकारखाना बाट ट्याक्स लिएर हुँदा खाने लाई उकास्नु राजनीतिक धर्म भएको बताउनुभयो । मुख्यमन्त्री बानियाँले मेलम्ची गुफाडाडा ओखरेनी सम्मको सडक निर्माणको जिम्मेवारी लिदै गुफाडाडालाई पर्यटकीय केन्द्र बनाउने बताउनुभयो ।

कार्यक्रमका सभापति मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जलवायु पार्क र मेलम्चीदेखि ज्यामिरे गुफाडाँडा, ओखरेनी सडक निर्माणको जिम्मेवारी प्रदेशका मुख्यमन्त्रीले लिएको भन्दै गुफालाई पर्यटकीय हिसाबले निर्माण गर्ने कुरामा मेलम्ची मात्रै नभई छिमेकी पालिकासमेत लागिरहेको बताउनुभयो । तालिम सेन्टर, बुद्धको मुर्ति, टावर बनाएर गुफाडाँडालाई पर्यटकीय र शैक्षिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बुद्धको मुर्ति, डम्फूपार्क, सिँढी निर्माणको लागि बजेट बिनियोजन भैसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवम् एमाले नेता शेरबहादुर तामाङले जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय समुदायले दिने बजेट नदिएको भन्दै गुफाडाँडालाई जलवायु सम्मेलन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायलाई बजेट माग गरेर कार्ययोजनासमेत बनाउन नसकेको प्रति आपत्ति जनाउँदै जलवायु परिवर्तनका बारेमा कुरा गर्दै बिदेश जानेहरुले अहिलेसम्म के गरे भन्ने प्रश्न गर्नुभयो ।

त्यस्तै बागमती प्रदेशका कानुन मन्त्री शिवराज अधिकारीले जलवायु परिवर्तनको असर र त्यसबाट हुने क्षति न्युनिकरणका लागि तीनै तहका सरकार सहकार्य गरेर अघि बढ्दै विकशित राष्ट्रसँग यसकाे क्षतिपूर्ति दाबी गर्नुपर्ने बताउनुभयाे ।

Leave a Reply