सिपाघाटमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, ३९१ ले लिए सेवा

विविध


सिपाघाट । सिपाघाटमा नि:शुल्क एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। कान्तिपुर अस्पताल, सुबिधानगर तिनकुने काठमाडौंको प्राविधिक सहयोग तथा कान्तिपुर स्वास्थ्य केन्द्र सिपाघाटको आयोजनामा इन्द्रावती सामुदायिक सेवा केन्द्रमा उक्त शिविर सञ्चालन गरिएको हो।

शिविरमा ३९१ जना बिरामीले नि:शुल्क स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्राप्त गरेका कान्तिपुर स्वास्थ्य केन्द्र सिपाघाटका सञ्चालक श्याम खड्काले जानकारी दिनुभयो। शिविरमा आएका बिरामीहरूलाई आवश्यक औषधि पनि नि:शुल्क वितरण गरिएको थियो। साथै, सो दिन ल्याब तथा एक्स–रे सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको खड्काले बताउनुभयो।

यस्ता स्वास्थ्य शिविरले गाउँघरमा लुकेर रहेका रोग तथा बिरामीको पहिचान र समयमै निदान गर्न सहयोग पुग्ने उल्लेख गर्दै सञ्चालक खड्काले सामाजिक सेवामूलक यस्ता पुण्य कार्यमा कान्तिपुर स्वास्थ्य केन्द्र सदैव तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शिविरकै अवसरमा सिपाघाटस्थित इन्द्रावती गंगा सहकारी संस्थाका विपन्न सदस्यहरूलाई ३० वटा बाफ लिने मेसिन (स्टिमर पोट) र ३० वटा स्थानीय बासिन्दालाई समेत नि:शुल्क वितरण गरिएको थियो।

Leave a Reply