लाभगाउँ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ८ मा अवस्थित श्री लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बुधबार विद्यालय प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सामग्रीहरू वितरण गरिएको हो ।
२०४५ सालमा स्थापना भएको यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर र उपस्थितिमा सुधार ल्याउने उद्देश्यले सो सहयोग उपलब्ध गराइएको हो । यस पवित्र कार्यमा विभिन्न सामाजिक संस्थाहरूले हातेमालो गरेका छन् । बिद्यालयका प्रधानाध्यापक दिपक खड्काको समन्वयमा लायन्स क्लब अफ काठमाडौं, “शुभतारा“ (डिस्ट्रिक्ट ३२५ एफ नेपाल), लायन्स क्लब अफ मेलम्ची (डिस्ट्रिक्ट ३२५ एफ नेपाल), अन्जु कुइकेल शिक्षा स्मृति कोष चाबहिलले सहयोग गरेका हुन् ।
कार्यवहाक वडा अध्यक्ष इन्द्रबहादुर गिरीको प्रमुख आतिथ्यतामा भएकोे कार्यक्रममा ’विद्यालय पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम’ मा विद्यालयका ३२ बालबालिकाहरूलाई स्वीटर, टोपी, पानी पिउने बोतल, कापी, कलम लगायतका स्टेसनरी सामग्री वितरण गरियो ।
कार्यक्रमको अवसरमा प्रमुख अतिथि गिरीले वडामा रहेका दुईवटा विद्यालयहरूमध्ये यस विद्यालय केही पछि परेको भएपनि विद्यालयको अवस्थालाई मध्यनजर गर्दै विद्यालयको शैक्षिक अवस्था सुधारको लागि लागि परेको बताउनुभयो। साथै दूरदराजमा रहेका यस्ता शैक्षिक संस्थाहरूलाई सहयोग गरेकोमा संस्थाहरूप्रति आभार व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेङा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक दीपक खड्काले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यस्ता सहयोगहरूले थप हौसला बढाउने बताउँदै विद्यालयमा विद्यार्थी उपस्थिति निरन्तर गराउनका लागि यस्ता सहयोगहरुको आगामी दिनमा पनि अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं, “शुभतारा“ (डिस्ट्रिक्ट ३२५ एफ नेपाल), का राजेश हिमालय लायन्स क्लब अफ मेलम्ची (डिस्ट्रिक्ट ३२५ एफ नेपाल), का सुरेन्द्र सुनार र सुवास बानियाँ स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो ।
सहयोग प्राप्त गरेपछि विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए ।
सहयोगी संस्थाहरूले आगामी दिनमा पनि यस्ता सामाजिक र शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।






