इन्द्रावती–१ मा विद्यालय प्रमुखमाथि कुटपिट, शिक्षक महासंघद्वारा कडा आपत्ति

* # समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा कार्यकक्षमै कुटपिट गरिएको घटनाप्रति नेपाल शिक्षक महासंघ, इन्द्रावती शाखाले कडा आपत्ति जनाएको छ।

महासंघका अनुसार मंगलवार विद्यालयको विषयमा भइरहेको सामान्य छलफलको क्रममा विद्यालयका अध्यक्ष रमेश भनिने खाम्सोङ तामाङले भण्डारीमाथि हातपात गर्नुका साथै अशोभनीय गालीगलौज र अपशब्द प्रयोग गरेका थिए। उक्त घटनामा प्रधानाध्यापक भण्डारीकाे खा र अनुहारमा समेत गम्भीर चाेट पुगेकाे बताइएको छ।

महासंघले विज्ञप्तिमार्फत यस आपराधिक कार्यको कडा भर्त्सना गर्दै तत्काल घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, महासंघले पीडित शिक्षकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता घटनाले शिक्षकहरूको मनोबलमा आघात पुर्‍याउने बताएको छ।

यता माओबादी निकट शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन इन्द्रावतीले पनि घटनाको भत्र्सना गरेको छ । अध्यक्ष प्रताप सिं तामाङले एक बिज्ञप्ती जारी गर्दै दोषी माथी छानबिन गरी कडा कारबाहीको माग गरेको छ ।

विद्यालयमै कार्यरत शिक्षकलाई कुटपिट गरिएको घटनाले शैक्षिक क्षेत्र आक्रोशित बनेको छ । शिक्षक तथा विद्यालय प्रमुखहरू आफ्नो कार्यस्थलमै असुरक्षित हुने अवस्था अत्यन्त चिन्ताजनक रहेको भन्दै घटनाको गम्भीर छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने आवाज उठेको छ ।

घटनाको बारेमा सामान्य निवेदन आएको तर जाहेरी भने अहिलेसम्म नपरेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।

Leave a Reply