मेलम्चीका आगलागी पीडित व्यवसायीलाई सहयोग रकम हस्तान्तरण

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची । मेलम्चीमा कार्तिक ५ गते भएको भीषण आगलागीले पूर्ण रूपमा क्षति पुगेका अधिकारी फेन्सी स्टोर र धन लक्ष्मी ज्वेलर्सका पीडित व्यवसायीलाई मेलम्ची नगर उद्योग वाणिज्य संघको पहलमा संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ।

संघको आव्हानमा संकलित सहयोगबाट आज सोमबार दिउँसो २:०० बजेसम्म जम्मा रु. ८,३४,१५१/- (अक्षरुपी आठ लाख चौंतीस हजार एक सय एकाउन्न रुपैयाँ) रकम संकलन भएको संघले जनाएको छ।

सहयोग रकममध्ये रु. ५०,०००/- (अक्षरुपी पचास हजार रुपैयाँ) धन लक्ष्मी ज्वेलर्सका प्रोप्राइटर रोशन सुनारलाई र बाँकी रु. ७,८४,१५१/- (अक्षरुपी सात लाख चौरासी हजार एक सय एकाउन्न रुपैयाँ) अधिकारी फेन्सी स्टोरका प्रोप्राइटर दिनेश अधिकारीलाई हस्तान्तरण गरिएको हो।

उक्त सहयोग रकम मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर धिताल र महासचिव तारा बानियाँले संयुक्त रूपमा पीडित व्यवसायीहरूलाई हस्तान्तरण गरेका हुन्।

संघका अध्यक्ष धितालले आगलागीबाट प्रभावित व्यवसायीहरूको पुनःस्थापनाका लागि निरन्तर साथ र सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै सहयोगमा सहभागी सबै दाताप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

Leave a Reply