माथिल्लो भोटेकोसी कम्पनी एक महिना पछि सञ्चालनमा, स्थानीयलाई सेयर उपलब्ध गराउने सहमति

* # समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक ।
स्थानीयलाई सेयर उपलब्ध गराउने सहमतिपछि माथिल्लो भोटेकोसी कम्पनी सञ्चालनमा आएको छ । ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी पावर कम्पनी आइतबार बेलुकादेखि सञ्चालन हुने पनि सहमती भएको हो । साथै उत्पादन क्षेत्र भोटेकोसी गाउँपालिकाभित्रका स्थानीयलाई १० प्रतिशत सेयर उपलब्ध गराउने सहमति भएपछि एक महिनादेखि बन्द पावरहाउस खुल्ने भएको हो ।
जेन–जी आन्दोलनपछि भोटेकोसीका स्थानीयले जेन–जीको नाममा कम्पनीको विद्युतगृह बन्द गरेका थिए । प्रतिकित्ता सेयर एक सय हुने गरी उत्पादन क्षेत्र भोटेकोसी गाउँपालिकाभित्रका स्थानीयलाई १० प्रतिशत सेयर उपलब्ध गराउन कम्पनी सहमत भएको गाउँपालिका प्रमुख पासाङ नुर्पु शेर्पाले जानकारी दिनुभयो ।
आइतबार दिउँसो कम्पनीका प्रतिनिधि, गाउँपालिका जनप्रतिनिधि, जेन–जी प्रतिनिधि र स्थानीय अगुवासहितको सर्वपक्षीय बैठकले सेयरबारे सहमति जुटाएको हो । एक महिनादेखि पावरहाउस बन्द हुँदा ३० करोड रुपैयाँ गुमेको अपर भोटेकोसी पावर कम्पनी लिमिटेडले जनाएको छ ।
गत असोज २ गते सेयरकै विषयमा जेन–जीलाई अलग्याएर कम्पनी र जनप्रतिनिधिको बैठक बसेपछि गाउँपालिका भवनमा युवाहरूले तोडफोड गरेका थिए । सुरुमा ९५ प्रतिशत सेयर लगानी अमेरिकन कम्पनी पान्डा इनर्जीले गरेको थियो । हाल नेपाली व्यवसायी सिद्धार्थशमशेर राणाको तारा म्यानेजमेन्ट कम्पनीले खरिद गरेको छ ।

Leave a Reply