विश्व हुलाक दिवस सिन्धुपाल्चोक पनि विविध कार्यक्रम गरि मनाइयो

* # समाचार समाज सिन्धुपाल्चोक

चाैतारा ।

जिल्ला हुलाक कार्यालय सिन्धुपाल्चोकले १५१ औं विश्व हुलाक दिवस २०२५ विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । “हुलाक सेवा : विश्वासिलो सञ्चार र जनसेवाको माध्यम” भन्ने नाराका साथ मनाइएको सो दिवसमा विभिन्न सराहनीय सामाजिक तथा सेवामूलक गतिविधिहरू सम्पन्न गरिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि ओम प्रसाद आचार्य र अतिथि नेपाल पत्रकार महासंघका सचिव टिका सुवेदी रहनु भएको थियो । प्रमुख अतिथि आचार्यले हुलाक सेवाको ऐतिहासिक भूमिका र वर्तमान सन्दर्भमा यसको आवश्यकता उल्लेखनीय रहेको बताउँदै आधुनिक प्रविधिसँग हुलाक सेवालाई जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “डिजिटल युगमा पनि हुलाक सेवाको विश्वास र पहुँच जनजीवनसँग गहिरो रूपमा जोडिएको छ, यसलाई अझ सुदृढ बनाउन सबैको सहकार्य आवश्यक छ ।” साथै उहाँले सिन्धुपाल्चोक हुलाक कार्यालयका कर्मचारीहरूको कार्यशैलीप्रति सन्तुष्टि व्यक्त गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट सेवाग्राही, निवृत्त कर्मचारी तथा उत्कृष्ट कार्य सम्पादन गर्ने बाहालवाला कर्मचारीलाई सम्मान गरिएको थियो । प्रमुख सेवाग्राहीको रूपमा मुंगा दुलाल, निवृत्त उत्कृष्ट कर्मचारी रुद्रप्रसाद दुलाल र बाहालवाला कर्मचारी करुणा महतलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघका सचिव टिका सुवेदीले हुलाक सेवाको ऐतिहासिक महत्वबारे चर्चा गर्दै हुलाकले देशका प्रत्येक कुनामा सूचना, सन्देश र सेवाको प्रवाहमा निरन्तर योगदान दिइरहेको बताउनुभयो । उहाँले पछिल्लो समय हुलाक कार्यालयमा जिम्मेवारी र कामको दायरा थपिँदै गएको उल्लेख गर्दै सबै कर्मचारीको निष्ठा र कुशलताप्रति आभार व्यक्त गर्नुभयो ।

दिवसको अवसरमा जिल्ला हुलाक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत चौतारास्थित वृद्धाश्रममा फलफूल वितरण गरेको थियो । साथै, कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरी स्वच्छ वातावरणमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको थियो । यस्तै, विश्व हुलाक दिवसको अवसरमा हुलाक कार्यालयले तीन दिनसम्म दीपावली गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply