मेलम्ची नगरपालिकालाई आधारभूत तहसम्मकाे शिक्षा अनिवार्य तथा निःशुल्क घोषणा गरिएको छ। ४ देखि १३ वर्ष उमेर समूहका बालबालिका विद्यालयबाहिर नरहेको पुष्टिसँगै नगरपालिकालाई निशुल्क शिक्षा पालिका घोषित गरिएको हो।
कार्यक्रममा नगरप्रमुख तामाङले अबदेखि मेलम्ची नगरपालिकामा आधारभूत तह कक्षा ८ सम्मकाे शिक्षा निःशुल्क र अनिवार्य गरिएको औपचारिक घोषणा गर्नुभयो। उहाँले शिक्षा कुनै विशेष वर्गको लागि मात्र होइन, समाजका हरेक बालबालिकाको मौलिक अधिकार भएकाे बताउनुभयाे । आधारभूत तहसम्मको गुणस्तरीय, निःशुल्क र समावेशी शिक्षा सुनिश्चित गर्नु मुख्य दायित्व भएकाे उहाँकाे धारणा थियाे। अब मेलम्ची नगरपालिकामा कक्षा ८ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क र अनिवार्य गरेको बताउनुभयो। उहाँले यस निर्णय मार्फत कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहोस् भन्ने सुनिश्चित गर्न चाहेको बताउनुभयो। नगरपालिकाले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा थप लगानी गर्दै शैक्षिक गुणस्तर उन्नयनलाई निरन्तरता दिने धारणा राख्नुभयो।

नगरप्रमुख आइतमान तामाङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
साथै साे घाेषणापत्रमा सहभागिहरुले प्रतिबध्दतामा हस्ताक्षार पनि गरेका छन् ।
यस्ता छन प्रतिवद्धताहरू :-
१) विद्यालय उमेर समुहका बालबालिका विद्यालय बाहिर रहेको पाइएमा विद्यालय भर्ना गरी अनिवार्य र निःशुल्क आधारभूत शिक्षाको सुनिश्चितता गरिनेछ ।
२) अपाङ्गता भएका बालबालिका, दलित, जनजाती, सीमान्तकृत र जोखिममा रहेका बालबालिकालाई लक्षित गरी विद्यार्थी सहायता कार्यक्रम सञ्चालन गरिनेछ ।
३) अभिभावक सचेतना मार्फत विद्यालय र अभिभावकबिचको सम्बन्ध सुमधुर गर्नुका साथै बालबालिकाको शिक्षामा अभिभावकलाई जिम्मेवार बनाइनेछ ।
४) विद्यालय अनुगमन प्रणालीलाई प्रभावकारी बनाई विद्यालयमा सुशासन कायम गरिनेछ ।
५) विद्यालयमा वालमैत्री, शैक्षिक र भौतिक पूर्वाधार निर्माणमा जोड दिई सिकाइको गुणस्तरीयता अभिवृद्धि गरिनेछ।

