सगरमाथा वृक्षरोपण महा अभियानलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको ‘एक विद्यार्थी, एक वृक्ष’ कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका भित्रका विभिन्न विद्यालयमा सम्पन्न भएको छ।
प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज दुलाल सहितको टोलीको उपस्थितिमा कुण्डला देवी मावि डडुवा, भवानी शंकर मावि र जनजागृति माविमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा मुख्यतः कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले वृक्षरोपण गरेका थिए। साथै, रोपिएको बिरुवाको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न प्रत्येक वर्ष आउने कक्षा १० मा नयाँ भर्ना हुने विद्यार्थीहरूलाई बिरुवा हेरचाहको जिम्मेवारी हस्तान्तरण गरिने योजना बनाइएको छ।
पूर्वमन्त्री युवराज दुलालले वातावरण संरक्षण आजको विश्वकै प्रमुख सरोकारको विषय भएको उल्लेख गर्दै भन्नुभयो, “ बर्खा लागे संगै राष्ट्रिय रूपमा वृक्षरोपण अभियान सञ्चालन भइरहेको छ। यो वृक्षरोपण कार्यक्रम मार्फत हामीले रूख मात्र रोपेका होईन आजको पुस्ताको सोचमा प्रकृति र वातावरणको रक्षा गर्नु पर्ने भावना रोपेका होैँ।” उहाँले विद्यार्थीहरूलाई माध्यम बनाएर समाजमा वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रमले विद्यार्थीहरूलाई प्रकृति र वातावरणसँग प्रत्यक्ष रूपमा जोड्ने प्रयास गरेको वन कार्यालय प्रमुख मदन कँडेलले बताउनुभयो । “यो अभियानले विद्यालय परिसरमा हरियाली विस्तार गर्दै विद्यार्थीहरूमा वातावरणप्रतिको गहिरो समझदारी विकास गर्नेछ,” उहाँले भन्नुभयो । त्यसै गरि वन अधिकृत रमेश दुलालले वृक्षरोपण मार्फत वातावरणीय सन्तुलन कायम गर्न सकिने बताउँदै सबैलाई दीर्घकालीन प्रतिबद्धताका साथ सहभागिता जनाउन आग्रह गर्नुभयो । साथै तीनवटा विद्यालयमा गरि विभिन्न प्रजातिको जम्मा ३ सय ७५ वटा बिरुवा रोपिएको डिभिजन वन कार्यलयले जानकारी दिएको छ।
वृक्षरोपण वातावरणीय सन्तुलन कायम गर्न, प्रकोप नियन्त्रणमा ल्याउन र भावी पुस्ताका लागि हरियाली सुरक्षित राख्न अत्यन्त आवश्यक कार्य हो। यसले हावामा अक्सिजनको मात्रा बढाउने, माटो जोगाउने र जलवायु परिवर्तनको असर कम गर्न योगदान पुर्याउने जस्ता महत्त्वहरू उल्लेख गर्दै वक्ताहरूले यसको आवश्यकता बारे बताएका थिए। यसले सरोकारवाला निकायहरू वातावरण प्रति संवेदनशील रहेको संकेत दिएको छ।