फोडा मेटामोर्फिक एकेडेमीको सातौं वार्षिक उत्सव, अभिभावक भेला तथा पूर्व प्राथमिक तह दीक्षान्त कार्यक्रम सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

फोडा मेटामोर्फिक एकेडेमी बलेफी एक जलबिरेको सातौं वार्षिक उत्सव, अभिभावक भेला तथा पूर्व प्राथमिक तह दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।

बलेफी गाउँपालिका अध्यक्ष गंगबहादुर तामाङको प्रमुख आतिथ्यता र सिन्धुपाल्चोक प्याप्सनका अध्यक्ष बुद्धिप्रसाद आचार्यको विशेष आतिथ्यता साथै विद्यालयका संस्थापक अध्यक्ष रमा रम्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको वार्षिक कार्यक्रम बुलेटिन प्रथम अङ्क लोकार्पणसमेत गरिएको छ ।

यस बुलेटिन मा शिक्षक विद्यार्थी का साहित्यिक रचना समावेश भएकाले सबै विद्यार्थीहरूका सिर्जनाहरूलाई समेट्दै प्रतिभा जन्माउने र यस क्षेत्रमा साहित्यलाई माथि उठाउन टेवा पुग्ने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शिलास रम्तेलले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले संस्थागत विद्यालयले गरेका रचनात्मक कार्यको प्रशंसा गर्दै फोडा मेटामोर्फिक एकेडेमीलाई धन्यवाद दिनुभयो । साथै पालिकाले गर्न सक्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने र थप प्रगतिको कामना समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका विशेष अतिथि सिन्धु प्याप्सनका अध्यक्ष आचार्यले स्थानीय सरकारले संस्थागत विद्यालयका विद्यार्थीहरूलाई समान तरिकाले शैक्षिक गतिविधिमा समावेश गर्नुपर्ने र सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा शिक्षातर्फ जलविरेका शैक्षिक व्यक्तित्व कर्णबहादुर श्रेष्ठ, शिक्षकतर्फ पूर्व प्रिन्सिपल तथा वर्तमान लेखापाल यमुना कार्की, कार्यालय सहयोगी दिकमाला श्रेष्ठ, अभिभावकतर्फ कक्षा नर्सरीदेखि हालसम्म छोराछोरी निरन्तर पढाउनुहुने पुरुषमा शिरबहादुर तामाङ र महिलामा मन्दिरा सिलवाललाई सम्मान गरिएको छ ।

पूर्व प्राथमिक तहको दीक्षान्त समारोहमा पालिका अध्यक्ष र प्याप्सनका अध्यक्षद्वारा दीक्षित विद्यार्थीहरूलाई दीक्षित गरिनुका साथै अतिरिक्त क्रियाकलापहरूमा सहभागी भई उत्कृष्ट विद्यार्थी र २०८० को कक्षा प्रथम द्वितीय र तृतीय हुनेहरुलाई मेडलद्वारा सम्मान गरिएको छ ।

बाल क्लबको प्रतिभातर्फको कार्यक्रम बाल संरक्षण शिक्षक प्रविन नेपालले सञ्चालन गरी समापन गर्नुभएको थियो भने साथै बाल क्लबका अध्यक्ष रोनिशा श्रेष्ठले मेरो जीवनको लक्ष्य शीर्षकमा आफ्नो मन्तव्य समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका सभापति संस्थापक अध्यक्ष रमा रम्तेलले प्रमुख अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक बेदलाल दुलालले प्रमुख स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सञ्चालन शिक्षक रामबहादुर बिकले गर्नुभएको थियो ।

Leave a Reply