मेलम्ची नगरपालिकाकाे नगर सभाकाे १७ औँ अधिवेशन सम्पन्न

* # अर्थ बाणिज्य पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडीयाे मिसन,मेलम्ची

मेलम्ची नगरापालिकाकाे नगर सभाकाे १७ औँ अधिवेशन विभिन्न १० प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्दै  सम्पन्न भएकाे छ । नगरसभाले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ ।

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको उक्त अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत छलफल गरी विधेयक पारित गरेको छ । नगरसभाका सभाध्यक्ष तामाङले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावहरू सर्वसम्मतले पारित भएकाे थियाे । नगरसभामा नगरप्रमुख एवं सभाअध्यक्ष तामाङले चालु आर्थिक वर्ष २०८१–८२ को माघ २७ गते सम्म सम्पादन भएका मुख्य मुख्य कामहरूकाे विवरण प्रस्तुत गर्नुभएकाे थियाे । निर्वाचित भएकाे २ बर्ष ८ महिनाकाे अवधिमा याेजना निर्माण, पुर्वाधार निर्माण, सुशासन र नगरकाे दिगाे बिकासमा एउटा इट्टा थप्ने कामकाे शुरूवात भएकाे तामाङले बताउनुभयाे ।

चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म संघिय सरकार, प्रदेश सरकार बाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँड र नगरपालिकाकाे आन्तरिक आम्दानी गरि जम्मा ५९ कराेड ४२ लाख ९४ हजार ४ सय २३ रूपैयाँ ७५ पैशा आम्दानि भएकाे छ भने खर्च तर्फ २८ कराेड २६ लाख १८ हजार ७ सय ४० रूपैयाँ ९४ पैशा (३४.५६ प्रतिशत) र पुँजीगत खर्च तर्फ ८.६३ प्रतिशत गरि जम्मा १९.८८ प्रतिशत खर्च भएकाे नगरपालिकाले जनाएकाे छ । नगरसभामा उपप्रमुख एवं न्यायिक समिति संयोजक उमा प्रधानले बजेट बक्तव्य, नगरपालिकाकाे आर्थिक ऐन २०८१ काे पहिलाे संशाेधन विधेयक २०८१, न्यायिक समितिकाे प्रतिवेदन २०८१/०८२, नगरपालिकाकाे विनियाेजन ऐन २०८१ काे संशाेधन विधेयक २०८१ नगरसभामा पेश गर्नुभएकाे थियाे । नगरपालिकाकाे चालू आर्थिक बर्षकाे कुल बजेट एक अर्ब अन्ठाउन्न कराेड चाैहत्तर लाख छपन्न हजार आठ सय तेत्तीस रूपैयाँ र उनान्सत्तरी पैशा रहेकाे छ ।

नगरप्रमुख आइतमान तामाङकाे अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपप्रमुख उमा प्रधानले आर्थिक ऐन संशाेधन तथा विनियाेजन विधेयक सभामा निर्णयार्थ प्रस्तुत गर्नुभएकाे थियाे । सभा सञ्चालनकाे सहजीकरण सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले गर्नुभएकाे थियाे । लेखा समिति सदस्य प्रतिमा धितालले पेस गरेकाे समितिकाे प्रतिवेदन तथा उपप्रमुख उमा प्रधानले पेस गरेकाे न्यायिक समितिकाे प्रतिवेदन सभाबाट पारित भएकाे हाे ।

सोही अवसरमा नगरपालिकाले सञ्चालन गरेको आधारभूत तहको वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका छात्रछात्राहरुलाई नगद रु. १० हजारसहित सम्मान गरिएको थियो । उत्कृष्ट अंक ल्याई सम्मानित हुनेहरुमा सामुदायिक विद्यालयतर्फबाट छात्रातर्फ जनजागृति माविकी जेनिशा मगर ३.७८ जिपिए, छात्रतर्फ इन्द्रेश्वरी माविका लिजन भट्टराई ३.७२ जिपिए र संस्थागत विद्यालयतर्फबाट छात्रातर्फ प्रगति अंग्रेजी मावि, मेलम्चीकी आयुशा नेपाल ३.९१ जिपिए, छात्रतर्फ सोही विद्यालयका वैभव भारती र मिशन दुलाल समान ३.७४ जिपिए रहेका छन् ।

Leave a Reply