इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा स्थानीयले ताला लगाएका छन्। आज वडावासी तथा वडाका राजनीतिक दलहरूको सहभागितामा वडामा ताला लगाइएको हो।
वडा कार्यालयको भवन कहाँ बनाउने भन्ने विषयमा यस अघिदेखि नै विवाद रहेको थियो। सोही विवाद लम्बिँदा आज वडा कार्यालयमा ताला लागेको हो। यस वर्ष ठेक्का लागिसक्दा पनि वडा कार्यालय बन्ने अनिश्चित भएको छ।
पुर्व वडा अध्यक्ष देव प्रसाद बानियाँले वडा कार्यालय निर्माणको लागी नागरिककाे राेजाईकाे ठाँउमा नभएकाे बताउनुभयाे । वडा कार्यालय सबैलाई सहज पहुँच हुने र सहजता हुने खालको ठाउँमा हुनुपर्ने उहाँले बताउनुभएको छ। वडावासीहरू विकास निर्माणको बाधक नभएको पनि उहाँले प्रस्ट पार्नुभयो । वडा कार्यालय बन्नु राम्रो भएपनि नागरिकको अपेक्षा अनुसार नहुनु दुःखको कुरा भएको उहाँले बताउनुभएको छ।
समाधान नआएसम्म ताला नखोलिने राप्रपाका नेता भूपेन्द्र बानियाले बताउनुभएको छ। खुतुमे डाँडा बाहेक वडाको स्वेच्छाले गर्दा पनि सहमत रहेको उहाँले बताउनुभएको छ। सतीको माने, भन्ज्याङ, लाकुरीको बोट र पाताल मध्ये कुनै एउटा तोक्नलाई सर्वदलीय संयन्त्रले सहयोग गर्ने उहाँले बताउनुभयाे ।
वडा अध्यक्ष भीमसेन थापाले भने यसअघि नै जग्गा खोज्नको लागि सर्वदलीय समितिलाई अधिकार दिए पनि सो समितिले जग्गा खोज्न नसकेको बताउनुभएको छ। उचित ठाउँ नभएका कारण खुतुमे डाँडालाई नै वडा कार्यालय कायम गरिने उहाँले बताउनुभएको छ। यसका लागि पालिकाबाट ठेक्का आह्वान भई निर्माण कम्पनीले ठेक्का लगाइसकेको पनि उहाँले जानकारी दिनुभएको छ। कुल १ करोड २१ लाख हाराहारीमा ठेक्का लागिसकेको उहाँले जानकारी दिनुभएको छ।
गतवर्ष अर्थात् २०८० असोज ६ गते भएको छलफलमा सर्वदलीय बैठक र वडा कार्यालय बीच भएको सहमतिमा ४५ दिनको समय दिएर जग्गा खोज्ने अधिकार दिएको थियो । तर सो समितिले तोकिएको अवधिमा जग्गा भने खोज्न नसकेको हो। यसअघि भएको माइनुटमा सर्वदलीय संयन्त्र तयार गरी सबैले ४५ दिनभित्र जग्गा खोज्ने र यदि सो समयमा खोज्न नसकेमा पालिकाले तोकेकै ठाउँमा वडा कार्यालयको भवन निर्माण गर्ने निर्णय भएको थियो।
आज विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।