गएरातीको बर्षाका कारण अवरुद्ध भएको मेलम्ची भोताङ सडकखण्ड सुचारु भएको छ । मेलम्ची नगर प्रमुख आइतमान तामाङको नेतृत्वमा मकैबारी खण्डमा आएको पहीरो हटाई सडक सुचारु भएको हो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको नेतृत्वमा पुगेको टोलिले नगरको स्काभेटरको सहयोगमा २ घण्टा पछि सडक सुचारु भएको हो । सो सडकखण्ड सुचारु नहुंदा पाँचपोखरी थाङ्पाल गाँउपालिकाका नागरीकहरुलाई आवतजावतमा समस्या भएको थियो । सो सडकखण्ड हरेक बर्ष बर्षायामको समयमा विभिन्न ठाँउमा अवरुद्ध हुने गरेको छ ।
आफु निर्वाचित नगरपालिकाका सबै सडकहरु बर्षभरी नै सञ्चालनमा ल्याउने कुरामा लागिरहेको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । आफ्नो पालिका मात्र नभई अन्य पालिकाका नागरीकले प्रयोग गर्ने सडकलाई पनि प्राथमिकतामा राखी काम गरीरहेको उहाँले बताउनुभयो । विषेश गरी बर्षायाममा ग्रामिण भेगका सडकहरु बन्द हुने भएकाले नगरपालिका तयारी अवस्थामा रही काम गरीरहेको उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध भई कुनै पनि नागरीकले सास्ती भोग्नु नपरोस भन्ने कुरामा सजग रहेको नगर प्रमुख तामाङले बताउनुभयो ।