प्रतिनिधि सभा सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा (सुवोध)ले केन्द्रिय सरकारमा कुनै समस्या नरहेको बताउनुभएको छ । सरकार केहि अस्थिर देखिएपनि देखा परेको समस्या समाधान गर्दै अब रफ्तारमा अगाडि बढ्ने दावि गर्नुभयो ।
नेकपा माओवादी केन्द्र मेलम्ची नगरपालिका वडा नम्बर ११ को दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै सांसद सापकोटाले केन्द्रिय सरकार संग जोडिएको र संघीय संसदमा उठाउन पर्ने आवाज उठाउनका लागी सधैं साथमा रहेको बताउनुभयो । सांसद सापकोटाले गठबन्धन गरेर चुनावमा जाँदा समेत सोचेअनुसार उपलब्धि हासिल गर्न नसकेको जिकिर गर्नुभयो । देशको राजनीतिक घटनाक्रमको बारेमा जानकारी दिदैँ सांसद सापकोटाले समाजवादी दृष्टिकोण र पुँजीवादी दृष्टिकोण बोकेर हिडेका कारण काङ्ग्रेस संगको गठबन्धन टुटेको स्पष्ट पार्नुभयो ।

काङ्ग्रेस र माओवादीको बिचार नै नमिलेका कारण समाजवादी यात्रामा हिड्नका लागी एमाले संगको गठबन्धन बनेको सापकोटाको भनाई थियो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनुभएका सांसद सापकोटाले कम्युनिस्ट बिभाजित हुँदा देशले विकासमा गतिलिन नसकेको बताउनुभयो । उहाँले एमाले संग गठबन्धन मात्र नभएर नयाँ सहयात्रा र सहकार्य भएको समेत स्पष्ट पार्नुभयो । नेकपा विभाजन हुनुको कमजोरी र गल्ती सच्याउदै फेरि देशको कम्युनिस्ट एक भएर अगाडि बढ्नुको विकल्प नभएको सापकोटाले धारणा राख्नुभयो ।
सुदुरपश्चिम प्रदेश र कोशी प्रदेशमा एमाले र नेकपा एस विच केहि असमजदारी भएका कारण केहि हल्ला भएपनि केन्द्र सरकारको सवालमा कुनै समस्या नरहेको जानकारी दिनुभयो । अहिले ल्याएको बजेट उत्कृष्ट रहेको उल्लेख गर्दै सांसद सापकोटाले समाजवादलाई बोक्ने गरि बजेट र निति तथा कार्यक्रम सरकारले ल्याएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले विद्यालय शिक्षा विधेयक जतिसक्दो चाडो पास गराउने र शिक्षक संग वार्तामा भएका सहमति हरुलाई लागु गराउनेकुरामा आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यहाँको बाढी पहिरो,खानेपानी प्रभावितको समस्या समाधानको लागी आगामी संसदमा बुलन्द रुपमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । मेलम्ची कटुन्जे हुँदै धुसेनी सडकको स्तरोन्नति तथा कालोपत्रेका लागी आफुले पहल गर्ने सापकोटाको भनाई थियो ।
कार्यक्रमका विशेष अतिथि एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रबहादुर थापाले नेपालको सबै बामपंथीहरु एक ठाउँमा आएर देशलाई विकास र निकास दिनुपर्नेमा जोड दिनुभयो । थापाले नेकपा एमालेलाई र काङ्ग्रेसलाई माओवादीले जिताएर पठाए पनि यस क्षेत्रको विकासले गति लिन नसकेको बताउनुभयो । उहाँले यहाँको समस्यालाई राष्ट्रियकरण र केन्द्रियकरण गर्नका लागी नेकपा माओवादी केन्द्रले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । विशेष अतिथि थापाले माओवादी केन्द्रले आन्दोलन गरेर ल्याएको अधिकारलाई ब्यबस्थित रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । एकमन र एकताबद्ध भएर अगाडि बढ्दै यहाँको विकास र समृद्धिको सबै एकजुट हुनु आजको आवश्यक रहेको थापाको भनाइ थियो । यो क्षेत्रको विकासको लागी सकेको योगदान गर्न आफु सधैं साथमा रहेको थापाले बताउनुभयो ।
वडा कमिटि अध्यक्ष ज्ञान प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय कमिटी संयोजक गोविन्द सापकोटा,नगर कमिटी इन्चार्ज गोपाल नेपाल (भिम),बागमती प्रदेश सचिवालय सदस्य मुना ढकाल,नगर कमिटि अध्यक्ष सिपि दुलाल,ज्ञान सिंह वाइबा लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।