रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकामा किसान चौतारी कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कृषक महासंघ नेपाल इन्द्रावतीको आयोजनामा भएको कार्यक्रममा किसानका समस्यामा स्थानीयतह, कृषिशाखा, गाउँपालिकामा सकृय संघ संस्था, वनकार्यलय र राष्ट्रिय कृषक महासंघ नेपालले के कामहरु गरिरहेको छ र भावी योजना केके छन् भन्नेबारे छलफल गरिएको छ ।
नीति तथा कार्यक्रम बन्दै गरेको यो एकदमै महत्वपूर्ण समयमा यस कार्यक्रम आयोजना भएको बताउँदै गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले आजको कार्यक्रमबाट आएको निष्कर्ष र निर्णयलाई गाउँपालिकाले कार्यन्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गाउँपालिकाकले विगतमा पनि कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको र नीति र कार्यक्रममै समेटेर अघि बढिरहेकोले आउने वर्षमा पनि छलफल गरेर अघि बढ्ने गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुखप्र शासकिय अधिकृत पूर्ण प्रसाद दुलालले कृषिलाई व्यवसायिक र प्रविधिमैत्री बनाउन नसकेकोले युवाहरू अन्य पेशामा पलायन भइरहेकाले बाँझो र उपयोग विहिन जमिन बढेको बताउनुभयो । अरु काम नभएपछि गरिने पेसाको रूपमा कृषिलाई लिने गरेको बताउँदै गाउँपालिकाले महत्त्वपूर्ण कार्यक्रमहरु ल्याउने योजना बनाइरहेको उहाँको भनाई छ । छलफलबाट अबको नीति तथा कार्यक्रममा राख्नुपर्ने कृषिको क्षेत्रका महत्त्वपूर्ण कुराहरु आउने अपेक्षा गरेको र त्यसलाई कार्यन्वयन गर्न जोड दिने उहाँले बताउनुभयो ।
छलफलका क्रममा गाउँपालिकाको तर्फबाट गाउँपालिकाक प्रवक्ता शशि नाथ आचार्यले कृषि कर्म भनेको बिपन्न र अशिक्षित वर्गका ब्यक्तिहरुको पेशाको रुपमा हेर्ने हामीमा मनोबैज्ञानिक समस्या रहेको धारणा राख्नुभयो । त्यस्तै जमिनको स्वामित्व समस्या पनि प्रमुख रुपमा रहेको उहाँले जानकारी दिनुभयो । अहिले गाउँपालिका कुखुराको मासुमा आत्मनिर्भर रहेको र अन्य कृषि उपज हरुमाभने आयातमा भरपर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । त्यस्तै गाउँपालिका दुधमा भने निर्यातको अवस्थामा रहेको र यो हाम्रोे लागी खुशीको कुरा रहेको बताउनुभयो ।
त्यस्तै गाउँपालिकामा किसानहरुमा इच्छा शक्तिको कमी रहेको गाउँपालिकाका कृषि शाखाप्रमुख रबिना कोजुको धारणा थियो । किसानहरुको लागी बिभिन्न तालिम गोष्ठीहर आयोजना गरिए पनि तालिम पश्चात निरन्तरता नदिएको पाइएको उहाँले बताउनुभयो । साथै निर्वहामुखी खेती र बजारिकरणमा समस्याका कारण पनि कृषि क्षेत्र पछाडी परिरहेको उहाँको भनाई थियो । गाउँपालिकामा मल सुधार तथा गोठ सुधार, माटो जाँच शिविर, सिँचाई ट्याङ्की निर्माण कृषियन्त्रहरु बितरण तथा मर्मतका लागी तालिमहरु साथै आवश्यकताका आधारमा कार्यक्रमहरु गर्दै गाउँपालिका अघि बढीरहेको जानकारी दिनुभयो ।
बाँझो जग्गाको हिस्सा बढ्दै जाँदा वन क्षेत्रको आकार बढेका कारण पनि बन्यजन्तुको समस्या बढिरहेको इलाका बन कार्यलय नवलपुरका प्रमुख पन्नलाल चौरासियाले बताउनुभयो । साथै चेतनाको कमीका कारण वन डढेलोको समस्या वर्षेनी दोहोरिने गरेको उहाँको भनाई थियो ।
किसानको हकहितको लागी पैरबी गर्दै आएको राष्ट्रिय कृषक महासंघ नेपालले वर्गिकरण सहितको किसान सुचिकरण र वर्गिकरणको आधारमा सेवा तथा अनुदान दिने ब्यवस्था साथै परिचयपत्रको ब्यवस्था हुनुपर्ने, सुचिकरणको प्रमाणीकरण तथा परिचय पत्र बितरणको अधिकार स्थानिय तहलाई दिनुपर्ने राष्ट्रिय माग सहित आफूहरु अघि बढिरहेको महासंघका केन्द्रिय अध्यक्ष पञ्चकाजी श्रेष्ठको भनाई थियो । त्यस्तै रासायनिक मलको बिकल्प खोज्न जरुरी रहेको र त्यसका लागी सरकारले नै कदम चाल्न जरुरी रहेको उहाँको भनाई थियो ।
त्यस्तै बिगत धेरै समय अघि देखी इन्द्रावती गाउँपालिकामा कामगरिरहेको सामाजिक संस्था सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्चका मधुसुधन सापकोटाले गाँपालिकामा किसानहरुको लागी ब्यवस्थित अनुदान तथा ब्यसस्थित सिप र ब्यसस्थित योजनामा काम गर्न नसकिरहेको बताउनुभयो ।
छलफलमा बिशेषगरी कृषि पेशामा आकर्षण गर्नका लागी कल्याणकारी योजना तथा हौसला प्रदान गर्ने खालका कार्यक्रमहरु सञ्चालन, किसानहरुमा अनुदान तथा सेवा लिन आन्तरिक राजस्व नम्बर अर्थात एब्ल् अनिवार्य गर्नाले भइरहेको समस्या, किसान सुचिकरणमा भइरहेको समस्या, भुमी को सही उपयोगमा भइरहेको समस्या, बन्यजन्तुबाट भइरहेको क्षतिमा पाउने अनुदान तथा क्षतिपूर्ती, बालि तथा पशु बिमा रोकिएको बारे, बजारिकरणमा भइरहेको समस्या, पहुँचको आधारमा मात्रै अनुदान पाउने लगायतका यावत समस्या र यसको समाधानको बारेमा बृहत छलफल गरिएको छ ।