खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी आज मङ्गलवार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसी पर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् ।
कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको सह–आयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शुभकामना व्यक्त गर्दै माझी समुदायको संस्कृति संरक्षणमा नगरले सहयोग गर्ने बताउनुभएको छ । तामाङले हिजोको र आजको युगमा धेरै फरक भईसकेको बताउनुभयो । यहाँको सुन्दर हावा पानी नदि सरसफाइका लागि माझी समुदायले हरेक बर्ष कोशी पुजा गर्दै आएकोमा उहाँले धन्यवाद ब्यक्त गर्नुभयो । नगर प्रमुख तामाङले पुर्खाले गर्दै आएको संस्कार र संस्कृती लाई अगाँल्दै शिक्षासाग जोडिनका लागि पनि सुझाउनुभयो ।
उहाँले नदि किनारको अबलोकन गर्ने अवसर समेत प्राप्त भएको उल्लेख गर्दै केही मात्रामा भएपनि फोहोर संकलन गरेको उल्लेख गर्नुभयो । मेलम्ची नगरपालिकाले बजार र नदि किनारको फोहोर संकलनका लागि प्रवाभकारी योजना अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । मेलम्ची नदिको किनारमा भएको नदि दोहन फोहोरमैला लगाएतका कुरालाई इङ्कित गर्दै तयार पारिएको चित्रले पनि आफुलाई झकझकाएको प्रमुख तामाङले बताउनुभयो । मेलम्ची बजार बाहुनेपाटी बजार नदि किनारलाई हरियाली सफा, स्वस्छ बाताबरण र पर्यटकिय स्थान बनाउनका लागि नगरपालिकाले दिर्घकालिन योजना बनाएर अगाडि बडेको भन्दै उहाँले यसमा नागरिक र स्थानियको सहयोगको अपेक्षा गर्नुभयो । प्रमुख अतिथी तामाङले आगामी नीति तथा कार्यक्रममा माझी समुदायका गुनासो तथा समस्या समेट्ने प्रयत्न गर्ने बताउनुभयो ।
विशेष अतिथि उपप्रमुख उमा प्रधानले कोशी पुजा संरक्षण लाई अभियानको रुपमा अगाडी बढाएकोमा माझी समुदाय र आयोजक लाई धन्यवाद ब्यक्त गर्नुभयो । उपप्रमुख प्रधानले चित्रकला पर्दर्शनीले हाम्रो प्रकृति कसरी मासिएको छ भन्ने प्रस्ट देखिएको भन्दै आजको कार्यक्रमबाट जलवायुमा परिहेको असर लाई समेत नियाल्ने मौका मिलेको बताउनुभयो । उहाँले जनजातिहरुको संस्कार र संस्कृति लाई संरक्षण गरि एउटा सुन्दर फुलबारी निर्माण गर्न सबैले हातेमालो गर्न आग्रह गर्नुभयो ।
सिन्धुपाल्चोकका माझीहरूले कोशी पर्व मनाउन मेलम्ची नगरपालिका–१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए । सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोशी पर्व भव्य रुपमा मनाउँदै आएको स्थानीय पूर्ण माझीले जानकारी दिनुभयो ।
हिन्दु नेपालीहरूको दशैं पर्व झैं पुजासँगै सामूहिक भोज, नाचगान गरेर उनीहरूले भव्य रूपमा सो पर्व मनाएका हुन् । माझीहरूले आफ्नो महान पर्व मनाउन मेलम्ची नगरपालिका १२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोसाकमा भेला भएर उनीहरूले खोलालाई सामूहिक पुजा गरेका थिए । विभिन्न धर्मको प्रभावसँगै आफ्नो मौलिक धर्म मान्न छाडेका नेपालका अल्पसंङख्यक अति सीमान्तकृत माझी समुदायले अहिले निरन्तर कोशी पर्व मनाउन थालेका हुन् ।
माझी समुदायले लदी पर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् । लोप हुँदै गएको कोसी पर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिन खोलामा पूजा गरेर मनाउन थालेको हो ।
कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनाल, वडा नम्बर १२ का वडा अध्यक्ष गणेश तामाङ, नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्ष चिनीमाया माझी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुले नदिको पुजा गर्दै नगर प्रमुख र उपप्रमुखले जिउँदो माछालाई खोलामा हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कलाकार सुर्यमणि आचार्य, आशा लामा लगायत स्थानिय माझी समुदायका कलाकारहरुको प्रस्तुतीले कार्यक्रमलाई थप रोचक बनाएको थियो । कोशीपुजा संरक्षण समिति तथा जाल्पादेवि माझी युवा क्लवको आयोजना र नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको सह आयोजनामा भएको कार्यक्रम क्वबका अध्यक्ष अमृत माझीको अध्यक्षतामा भएको थियो ।




