आफ्ना माग पुरा नभए मेलम्ची खानेपानी बाढीपिडीतले पौष २५ गते देखि आयोजनाको काम ठप्प पार्ने

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
मेलम्ची खानेपानी आयोजना बाढीप्रभावितहरु बिभिन्न मागसहित आन्दोलनमा उत्रिएका छन् । २०७८ असार १ गते र साउन १६ गतेको मेलम्ची बाढीका कारण प्रभावितहरुले आफूहरुको माग पूरा नभएको भन्दै आन्दोलन थालेका हुन्। यसअघि गठन भएका बिभिन्न सँघर्ष समितिहरुले खानेपानी आयोजना र बाढीबाट प्रत्यक्ष प्रभावित बनेकाहरुलाई लाभ हुने कुनैपनि माग सम्बोधन गराउन नसकेको भन्दै शनिबार पासाङ लामाको नेतृत्वमा नयाँ सँघर्ष समितिको निर्माण गरी बिभिन्न माग सहित आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

मेलम्ची आयोजना तथा मेलम्ची बाढीबाट प्रत्यक्ष प्रभावितहरु आफ्नो मागका बिषयमा आयोजना सम्बद्ध निकाय, स्थानीय र सँघीय सरकारलाई पटक-पटक आग्रह गर्दा पनि माग सम्बोधन नभएकोले पौष २५ गतेबाट मुहानस्थलमा धर्ना सहित आयोजनाको काम ठप्प पार्ने गरी आन्दोलनको कार्यक्रम तय गरीएको सँघर्ष समितिका सचिव छिरीङ ह्योल्मोले जानकारी दिनुभयो ।

मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरुले नदी नियन्त्रणका लागी तटवन्ध निर्माण, जोखिममा रहेका बस्तीहरुको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढी अघि बैँक तथा बित्तिय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाईएको घर व्यवसायको ऋण मिनाहा गर्नु पर्ने, बाढीबाट मृत्यू भएका परिवारलाई प्रति व्यक्ति १० लाख क्षतिपुर्ती दिइनुपर्ने, स्थानीय सरकार मार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि २० लाख अनुदान दिनुपर्ने लगायतका बिभिन्न मागहरु राखेका छन्।

स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौँ लान नपाइने उनीहरुको भनाई छ। उनीहरुले बाढी पीडितहरुलाई आयआर्जनका कार्यक्रमहरु लागू गर्न समेत माग गरेका छन् । माग पूरा नभएसम्म आयोजनाको सबै काम ठप्प गर्ने चेतावनी दिँदै आन्दोलन जारी राख्ने मेलम्ची खानेपानी बाढीपिडीत सँघर्ष समितिले जनाएको छ ।

Leave a Reply