श्री सिपातीनघरे संस्कृत माविको १२१ औँ जन्मजयन्तीको अवसरमा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आजबाट सुरु भएको छ । वि.सं. १९६० सालमा स्थापना भई वेदसहितको संस्कृत शिक्षा अध्ययन र अध्यापन गराउँदै आएको विद्यालयले २०८० पौष १ गतेदेखि ८ गतेसम्म श्री मद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरेको हो । विद्यालयलाई गुरुकुलसहित आवासीय रूपमा सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक पुण्य प्रसाद आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले संस्कृत भाषाको महत्त्व विश्वव्यापी रूपमा बढेको बताउनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संस्कृत भाषाको विकासको लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सभामुख घिमिरेले शिक्षा सबैका लागि सर्वसुलभ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्कृत भाषा तथा शिक्षा विश्वसामु फैलिएको बताउँदै नेपालमा पनि यसको संरक्षणका लागि सिपा तीन घरे संस्कृत माध्यमिक विद्यालय लगायतले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनु पर्ने बताउनुभएको छ । मन्त्री बस्नेतले संस्कृत भाषाको संरक्षणमा जोड दिन सके मात्र संस्कार र संस्कृतिको जगेर्ना हुने भएकाले राज्यले यसको संरक्षणका लागि लगानी बढाउने बताउनुभएको हो । संस्कृत भाषा पढेका व्यक्ति शिक्षण पेसा, ज्योतिष विज्ञान, धर्म कर्ममा मात्र नभएर कर्मचारी प्रशासनमा समेत अब्बल हुने गरेको दाबी गर्दै मन्त्री बस्नेतले संस्कृत विषयको पढाई हुने विद्यालयहरूले पढाइको स्तरमा ध्यान दिनु पर्नेमा जोड दिनुभएको हो ।
कुनै पनि नागरिकले पैसा अभावमा उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भन्ने उद्घोषका साथ काम गरिरहेको बताउँदै आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि सकै अस्पतालका १० प्रतिशत शैया विपन्नका लागि निःशुल्क गरिरहेको र सङ्घीय सरकार मातहतका साढे तिन हजार जनरल बेड निःशुल्क गरेको जानकारी दिनुभयो । मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशले आफू मातहतका सबै अस्पतालहरूको जनरल बेड निःशुल्क भइसकेको र निकट भविष्यमै अन्य तिन वटा प्रदेशका अस्पतालका जनरल बेड पनि निःशुल्क गर्ने अभियानमा आफू लागिरहेको मन्त्री बस्नेतले बताउनुभयो ।
यस्तै कार्यक्रमको अवसरमा बोल्दै पूर्व कानुन मन्त्री शेर बहादुर तामाङले गुरुकुल पद्धतिको शिक्षण सिकाई एकदमै प्रभावकारी भएको बताउनुभएको छ । गुरुकुल पद्धतिबाट सिकेर जाने विद्यार्थीहरू अरू ठाउँमा गएर पनि अब्बल हुनु खुस्को कुरा भएको उहाँले बताउनुभयो । गुरुलाई सबैले मान्ने भएकाले पनि गुरुकुल शिक्षण पद्धति उच्च तहको शिक्षा भएको बताउनुभएको छ । त्यसैले यसलाई फराकिलो मनले सोच्नुपर्ने उहाँले बताउनुभएको छ । अबका विद्यालयहरू आधुनिक हुने भएकाले पनि सांस्कृतिक धरोहर बोकेको विद्यालय जोगाउनु आजको आवश्यकता भएको उहाँले बताउनुभएको छ । कम्प्युटर कोडमा पनि संस्कृत भाषा मान्य हुने हुँदा संस्कृत पाठशाला सबैको हुने भएकाले अब यसलाई विस्तार गर्दै लैजानुपर्ने उहाँले बताउनुभएको छ ।
यस्तै कार्यक्रमको अवसरको अवसरमा बोल्दै पूर्व गृह राज्यमन्त्री विष्णु विक्रम थापाले धार्मिक तथा सामाजिक रूपमा अनेकतामा एकता भएको देशमा यति बेला चुनौती देखिएको बताउनुभयो । भाषा, संस्कृति पहिचान भएकाले संवेदनसित हुनुपर्ने उहाँले बताउनुभयो । साथै उहाँले आफ्नो जीवनकाल भरी नै विद्यालयलाई वार्षिक एक लाख सहयोग गर्ने बचनबद्धता गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले संस्कृत भाषालाई शंरक्षण गर्नुपर्ने बताउनुभएको छ । सबै जातजाति भाषाभाषि सबैो साझा विद्यालय भएकाले यसको शंरक्षण गर्ने दायित्व भएको उहाँले बताउनुभएको छ । धर्म, परम्परा, संस्कार र संस्कृतिले मोक्षको मार्ग पहिल्याउने भएकाले पनि यसको प्रचारप्रसारमा जोड दिनुपर्ने बेला आएको बताउनुभएको छ । पछिल्लो समय विद्यार्थी संख्या घट्दै गइरहेकोले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उहाँले बताउनुभएको छ ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्रावती गाँउपालीकाका पूर्व अध्यक्ष वंशलाल तामाङले समाज सुधारकहरूले छाडेको नासोलाई सुसज्जित गर्दै लैजानुपर्ने बताउनुभएको छ । विद्यालयको भवन आलिसान बने पनि कक्षाकोठा खालि हुँदै गएको प्रति तिनै तहका सरकार संवेदनशील हुनुपर्ने बेला आएको बताउनुभएको छ । सबै जातजाति र भाषाभाषिको भएकाले यसलाई आकर्षणको थलो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा उच्च ओहदाका व्यक्तिहरूका साथै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधि, समाजसेवीहरू, शिक्षाप्रेमिहरु लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको महायज्ञका संयोजक डा: उत्तमहरी न्यौपानेले जानकारी दिनुभयो ।