कामा महिला सञ्जाल भेला तथा जनचेतनामुलक तिज कार्यक्रम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाको आयोजनामा इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङको सभापतित्व र गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा कार्यक्रमका सभापति सोभना तामाङले महिला हक अधिकारका दिलाउनका लागी गाउँपालिका सँधै तत्पर रहेको बताउनुभएको छ । त्यसका लागी महिला आफैले पनि यसमा अग्रसरता देखाउन जरुरी रहेको उहाँको भनाई थियो । साथै तिज पहिला हिन्दु महिलाको भन्ने गरे पनि अहिले सबैको साझा पर्व भएको बताउनुभयो । उहाँले आजै परेको राष्ट्रिय बाल दिवसको अवसरमा पनि शुभकामना ब्यक्त गर्नुभयो । बालवालिका भबिष्यको कर्णाधार भएको भन्दै बालबालिकाको क्षेत्रमा लगानी गर्न पछि पर्न नहुने उहाँको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले महिलाले प्राप्त गरेको अधिकार ब्यवहारमा लागु गर्न सक्नुपर्ने बताउनुभयो । तिज लगायत हरेक संस्कार सँस्कृतिलाई नयाँ बनाउनुपर्ने र यो नयाँ भनेको सोच ब्यवहार र चिन्तनमा नयाँ हुनुपर्ने उहाँको भनाई छ । बहुसँस्कृती, बहुभाष, बहुजाती नै देशको पहिचान रहेको बताउँदै यसको संरक्षण गर्न जरुरी रहेको उहाँको धारणा छ ।
गाउँपालिका स्तरमा यस्ता कार्यक्रम हुनु सकरात्मक कुरा रहेको तर सबै वडाका महिलाहरु समेट्न नसकेको भन्दै कार्यक्रममा वडा स्तरमा यस्ता कार्यक्रम हुनुपर्ने माग उठेपछि इन्द्रवती २ का अध्यक्ष श्याम बहादुर गिरीले यसमा आफ्नो ध्यानाकर्ण भएको बताउँदै वडा नम्बर ३ सँगको सहकार्यमा तिज बिशेष कार्यक्रम गर्ने र त्यसमा वडा नम्बर ३ बाट पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो । त्यस लगतै वडा नम्बर ३ का अध्यक्ष भिमसेन थापाले पनि आफू यस प्रस्तावमा सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले महिलाको सवालमा ब्यवसायिक रुपमा फाइदा हुने खालका कार्यक्रम पालिका तथा वडाले गर्नुपर्ने बताउनुभयो ।
वडा नम्बर ७ का अध्यक्ष रबिन्द्र खातीले देशमा भएका बिभिन्न परिवर्तनका लागी भएका ऐतिहाँसिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान गरेका महिलाहरुको सशक्तिकरणमा भुमिका खेल्न पनि सक्नुपर्ने धारणा राख्नुभयो ।
वडा नम्बर ८ का अध्यक्ष दिल कुमार श्रेष्ठले हरेका पर्वको महत्व हुने बताउँदै सँस्कृतिलाई बिकृतीको रुपमा नभई सँस्कृति जोगिने गरी मनाउनुपर्ने बताउनुभयो ।
गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले महिला सशक्तिकरण सम्बन्धी गीत सहित शुभकामना दिनुभयो । साथै माइतीको रुपमा सबै चेलीहरुलाई निमन्त्रणा गरेर गाउँपालिकाले तिज मनाएको बताउनुभयो ।
बिभिन्न वडाका वडा अध्यक्ष तथा बिभिन्न संघ संस्थाका प्रतिनिधी अगुवा महिलाहरु बिभिन्न दलका भातृ संगठनका महिला प्रतिनिधीहरु लगायत सयौँ संख्यामा महिलाहरु उपस्थित भएका कार्यक्रममा तिज गीतमा नाचगान गरिनुका उपस्थित सबैलाई दर रमेत खुवाइएको थियो । साथै बिभिन्न महिलाहरुको समुहले चेलिको बेदना समेटिएको गीत समेत गाएका थिए ।