रेडियो मिसन ।
एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व सिन्धुपाल्चोकमा पनि नेवार समुदायले धुमधामका साथ मनाएका छन् । विशेष गरी सदरमुकाम चौतारा, बाह्रबिसे दुवाचौर लगायत नेवारी समुदायको बस्ती भएका स्थानहरुमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिन अर्थात् आज मनाए ।
सिन्धुपाल्चोकमा यस पर्व मनाउने क्रममा दिवङ्गत आफन्तको सम्झनामा परिवारका मानिसको सहभागितामा गाई र मानिसलाई शृङ्गारी गाउँ बास्ती तथा बजार परिक्रमा गराई मनाइन्छ । विशेष गरी नेवारी संस्कृतिको परम्पराअन्तर्गत यस जात्रालाई बर्सेनि निरन्तरता दिएको पाइएको हो ।
चौतारा, बाह्रबिसे, दुवाचौर, मेलम्ची, बाहुनेपाटी नवलपुरलगायत जिल्लाको मुख्य सहर बजारमा नेवार समुदायका परिवारले गाई र मानिसलाई शृङ्गारी गाउँ तथा नगर परिक्रमा गराउँछन् । जात्रामा सहभागी केहीले जात्राको पोसाकका मुकुण्डो लगाई विभिन्न वाद्यबाधन सामग्री बजाउँदै नाच प्रदर्शन गर्दछन् । त्यसक्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, दही–चिउरा, खाद्यान्न तथा दक्षिणा दान गर्ने प्रचलन रहेको छ । जात्राका क्रममा बजार परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्ति ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने सन्देश दिन ‘जनतालाई आ–आफ्नो घरका मरेको ब्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आत्रा दिएका आधारमा यो पर्व सुरु गरिएको ऐतिहासिक तथ्य रहेको पाइन्छ । यसबाट पनि रानीको मन शान्त नभएपछि प्रहसन, नाटक र नाच प्रस्तुत गरिएअनुसार गाईजात्रामा प्रस्तुत गर्दै आइको जनश्रृति रहेको छ । सोही समयमा सुरु गरिएको गाईजात्रा हनुमाढोकास्थित ‘राजप्रासाद’ भएर जानुपर्ने प्रथा हालसम्म जारी रहेको बताइन्छ ।
विशेष गरी काठमाडाँै, भक्तपुर, ललितपुरलगायत नेवारी समदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा काभ्रेपलाञ्चोकमा पनि सोही समयदेखि नै मनाइँदै आइएको हो । पछिल्लो केही वर्षदेखि जिल्लाको अन्य स्थानमसमेत जात्रा विस्तार गरिँदै आइएको छ । ‘क्वाँटी पूर्णिमा’को उपमा दिइने यस जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि तिथिले आज नै परेको बताइन्छ । जनैपूर्णिमा र गाईजात्राको दुई दिन भने क्वाँटी खाने चलन रहँदै आएको छ ।
यसैबीच जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा जिल्लाको आधादर्जन प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीले उत्साहपूर्वक मेला भर्ने गरेका छन् । पाँचपोखरी, रैथानेश्वर महादेव, नौलिङेश्वर महादेव, भैरवकुण्ड, ढुकु र रानीपोखरीमा दर्शनार्थीको भीड लाग्ने गरेको हो ।