रेडियो मिसन, मेलम्ची ।
हिउँदे अधिवेशनबाट छनोट भएका योजनाको वडामै पुगरे उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडा स्तरमा नै सम्झौता थालेको हो । नगरपालिकाले वडा नम्बर १, २, ३ र ५ का योजनाहरुको नगरबाट सम्बन्धीत वडा कार्यालयमै पुगेर अनलाईन सिस्टम बाट उपभोक्ता समिती दर्ता तथा योजना सम्झौता गर्ने कार्य सम्पन्न भएको योजना शाखाका प्रमुख रामकुमार केसीले जानकारी दिनुभयो । नगरपालिकाले योजना सम्झौता हुनुभन्दा अगाडि १३ वटै वडामा गएर उपभोक्ता समितिलाई अनुशिक्षण कार्यक्रम समपन्न गरिसकेको छ ।
स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै जनप्रतिनिधी र कर्मचारीको टोलीले वडामा पुगेर योजना सम्झौता गरेको वडा नम्बर १ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाँईले जानकारी दिनुभयो । उपभोक्ता समितिका तिनजना मुख्य पदाधिकारी नगरमै आएर सम्झौता गर्नुपर्नेमा यसरी टाढाको दुरिमा रहेका हरुलाई वडामा नै गएर सम्झौता गर्दा उपभोक्ता समितिलाइ सहज हुनुका साथै पालिकासम्म आउने खर्च समेत कम हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो ।
समयमै एकमुष्ट सबै योजना सम्झौता गरिदा योजनाको काम पनि समयमै सम्पन्न हुने गरेको स्थानियको भनाई छ । अनलाईन प्रणालीबाट योजना सम्झौता हुने हुँदा पहिलाको जस्तो झन्झटिलो समेत नहुने योजना शाखाका कर्मचारी माया खड्काले बताउनुभयो । यस अघि १२ औं अधिवेशनबाट विनियोजित योजनाहरु पनि नगरबाट टाढाको दुरिमा रहेका वडा कार्यालयमा पुगेर नै योजना सम्झौता गरिएको खड्काले बताउनुभयो । उपभोक्ताको सहजताको लागि वडा वडामै पुगेर योजना सम्झौताको काम गरेको नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । नगरवासीको सहजताका लागि आगामि दिनमा समेत प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।
सम्झौता गर्न वडा वडामा पुग्दा सो वडाका चालु तथा सम्पन्न भएका योजनाको स्थलगत अनुगमन समेत गरिएको छ । नगर उपप्रमुख एवम् अनुगमन समितिका संयोजक उमा प्रधानको संयोजकत्वमा योजना हरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा उपप्रमुख प्रधानले तिव्र गतिमा गुणस्तरिय काम गर्न निर्देशन दिनुभयो । उहाँले प्राबिधिक तथा कुनै समस्या भएमा वडा तथा नगरपालिका संग समन्वय गर्न समेत आग्रह गर्नुभयो ।