पाँचपोखरी थाङपाल गाउँपालिकामा उत्पादित कृषि उपजहरुको बजारीकरण, कोसेली घर स्थापना तथा व्यवस्थापनबारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC), मुना कृषि लिमिटेड (मुना बजार), तथा उत्पादनमा संलग्न ४ वटा कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा विभिन्न सुझाव र योजनाहरु प्रस्तुत गरिएको थियो। कोसेली घर स्थापनाका सम्भावनाबारे थप जानकारी लिन गाउँपालिका अध्यक्ष टासी लामा नेतृत्वको टोलीले प्रस्तावित स्थलमा स्थलगत अनुगमन तथा निरीक्षणसमेत गरेको छ।
कृषि शाखा प्रमुख निमराज गिरीका अनुसार स्थानीय उत्पादनको प्रबर्द्धन, बजार व्यवस्थापन र सहकारीहरुसँगको सहकार्यमा आधारित दीर्घकालीन योजना तयार गर्न अन्तरक्रिया फलदायी भएको हो। कार्यक्रममा सहभागी सरोकारवालाले कोसेली घर स्थापनाले गाउँपालिकाको कृषि उत्पादनमा नयाँ उचाइ ल्याउने विश्वास व्यक्त गरेका छन्।
