पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी आयोजकलाई

* # खेलकुद शिक्षा समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।
पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर ५ को ए टिम आयोजकले जितेको छ । फाइनलमा वडा नम्बर ७ लाई २(० को सोझो सेटमा पराजित गर्दै आयोजकले उपाधी जित्न सफल भएको हो ।
उसले वडा नम्बर ७ लाई २५-१८ र २५-२३ को सेटमा पराजित गरेको । त्यस्तै वडा नम्बर ५ को बी टिम ले तृतीय स्थान हासिल गरेको छ । वडा नम्बर ६ लाई ३ २ को सेटमा पराजित गर्दै वडा नम्बर ५ को बी टिम तेस्रो भएको ।

उपाधि सँगै आयोजकले ३० हजार नगद समेत प्राप्त गरेको छ। फाइनलमा पराजित वडा नम्बर ७ ले २० हजार नगद र तेस्रो स्थान हासिल गरेको वडा नम्बर ५ को बि टिमले १५००० नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
वडा नम्बर ५ ए टिम पहिलो सेमिफाइनलमा टिम बि लाई लाई २-१ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो । त्यस्तै वडा नम्बर ७ वडा नम्बर ६ लाई २-१ को सेटमा पराजित गर्दै नम्बर ५ ए सँगको फाइनल भेट पक्का गरेको थियो ।

प्रतियोगितामा बेस्ट लिबेरो इन्द्रावतीका इन्द्रावती ५ बी का सोमबहादुर तामाङ, बेस्ट सर्भर इन्द्रावती ५ बी का शुक्र तामाङ, बेस्ट ब्लकर सुदीप तामाङ, बेस्ट प्लेयर उक्त टिमकै मिङमार लामा, बेस्ट सेटर इन्द्रावती ७ का निरञ्जन ढुङ्गाना र बेस्ट स्पाइकर इन्द्रावती सातकै सुवास न्यौपाने घोषित हुनुभयो ।


समापन कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङले नियमपुर्वक अनुसासित सभ्य र मर्यादित ढङ्गले खेल खेलेकोमा सबै खेलाडीहरूलाई धन्यवाद दिनुभयो । साथै यस प्रकारको मेहनतलाई निरन्तरता दिई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म खेल्न सक्ने हुन शुभकामना पनि दिनुभयो। पालिकाले आयोजना गर्ने सबै खेलहरूमा यसरी नै उत्साहपूर्वक सहभागिता र अनुशासित खेल प्रदर्शन गर्न पनि अनुरोध गर्नुभयो।

कार्यक्रमका सभापति वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले खेलले स्वस्थ रहन मद्दत गर्नुका साथै राष्ट्रिय स्तरमा समेत योगदान पुग्ने बताउँदै उत्साहपूर्वक खेल समापन गर्न सहयोग पुर्‍याउने सबै पक्षलाई धन्यवाद दिनुभयो । यस खेल सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताउँदै अब आउँदो वर्षको सुरुमै वैशाख २ बाट पालिका स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने पनि जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा समेत यस्तै सौहार्दपूर्वक तरिकाले खेल सम्पन्न गर्नुपर्ने भएकोले यस्तै साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
विगतका तीता घटनालाई बिर्सेर त्यसबाट नयाँ कुरा सिक्दै अघि बढ्नुपर्ने बताउँदै आगामी खेलहरु पनि यसरी नै सम्पन्न गर्न पर्ने बताउनुभयो।

साथै फागु पूर्णिमा हाम्रो संस्कृति भएको बताउँदै यसलाई जोगाउन र संस्कार अनुसार अनुशासित र मर्यादित ढंगले भोलि खेल्न सुझाव दिनुभयो । साथै सबैमा होलीको शुभकामना समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतियोगिता संयोजक नवराज कटुवालले खेल सौहार्दपूर्वक ढङ्गले सम्पन्न गर्न उपस्थित हुने सबैलाई होलीको शुभकामना सहित स्वागत मन्तव्य राख्नुभएको थियो।

Leave a Reply