रेडियो मिसन ।
मेलम्ची नगरपालिका वडा नम्बर ८ ले वडा भित्र रहेका दुई बिद्यालयहरुमा खेलकुद पोशाक तथा बिभिन्न खेलकुद सामग्रीहरु वितरण गरेको छ । जलवाई देवी माध्यमिक विद्यालय र लाभगाउँ आधारभूत बिद्यालयलाई गरी करिव ६० हजार बराबरको शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरेको वडा कार्यलयले जनाएको छ ।
वडा युवा शिक्षा तथा खेलकुद विकास शीर्षकमा विनियोजित आर्थिक वर्ष २०८१/८२ को बजेटबाट विभिन्न खेलकुदका सामग्री तथा २५ स्थान खेलकुद पोशाक खरिद गरी वितरण गरिएको कार्यवाहक वडा अध्यक्ष इन्द्रबहादुर गिरीले जानकारी दिनुभयो ।
वडा बाल सञ्जालको पहलमा माग गरे अनुसार वडा शिक्षा समितिको निर्णय अनुसार उक्त सामाग्रीहरु बितरण गरिएको र बिद्यालय शैक्षिक सुधारको लागी वडा सधै सहयोग गर्न तयार रहेको वडा अध्यक्ष जित बहादुर तामाङले बताउनुभयो ।
आज वडा अध्यक्ष जित बहादुर तामाङ, कार्यवाहक वडा अध्यक्ष इन्द्रबहादुर गिरी, बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष जल बहादुर तामाङ, वडा सचीव बद्री ज्ञवाली, बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर खड्का, बाल सञ्जालका अध्यक्ष रितिमा तामाङ लगायतको उपस्तिथिमा उक्त सामाग्री बितरण गरिएको बिद्यालयले जनाएको छ ।
विद्यालयको नाम र नम्बर अंकित खेलकुद पोशाक २५ थान, भलिबल ३, भलिबल नेट १, फुटबल १ ज्याबलिङ थ्रो १, ब्याडमिन्टन ३, ब्याडमिन्टन नेट र कक १, लुडो र गोटी २, भलिबल पम्प २, ईसकिपिङ डोरी २ चेसबोर्ड र गोटी १ र नेपालको झन्डा २ थान गरि करिव ६० हजार बराबरको सामाग्री प्राप्त भएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जल बहादुर तामाङले जानकारी दिनुभयो ।
वडाबाट प्राप्त यो सहयोगहरुबाट विद्यार्थीहरुमा पढाइको अलावा अतिरिक्त क्रियाकलापका लागि सहयोग पुग्ने र आसन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अभ्यासका लागी समेत सजिलो हुने अध्यक्ष तामाङले बताउनुभयो । साथै सहयोगको लागि वडालाई धन्यवाद दिँदै निरन्तर सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।