रेडियो मिसन ।
मेलम्चीमा सञ्चालित दुई दिने दलित हक र अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र मेलम्ची नगरस्तरीय दलित साझा संजालको आयोजनामा कार्यक्रम गरिएको हो । समापन कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले आर्थिक समृद्धि हुने प्रकृतिका कार्यक्रम अबको आबश्यकता रहेको बताउनुभयो ।
यस्ता कार्यक्रममा नगरपालिकाले सहयोग गर्ने बताउँदै भावि दिनमा महिलाका योजनाहरूलाई प्राथमिकतामा राख्ने र दलित समुदायका समस्या र आवश्यक योजना पूरा गर्नका लागि आफ्नो तहबाट पुर्ण रूपमा लाग्ने कुरा बताउनुभयो ।
उहाँले कानुन बनेपनि यसको कार्यान्वयन हुन नसक्दा दलितका हक अधिकार प्राप्तिमा समस्या भएको बताउनुभयो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण राजु विक र उमेश विश्वकर्माले गर्नुभएको थियो । दलित अधिकार, दलित सम्बन्धी कानुनी कुरा, नेतृत्व विकासका लागि गर्नुपर्ने काम लगायत विषयमा जानकारी गराइएको प्रशिक्षक राजु विकले जानकारी दिनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिका १३ वटै वडाका दलित जनप्रतिनिधिहरू,दलित समुदायका अगुवा व्यक्तिहरू लगायत ५० जना सहभागी रहेको आयोजका सचिव टीकाबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।