रेडियो मिसन ।
तातोपानी नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । नेपाल–चीनबीचको एक मात्र स्थलमार्ग आठ वर्षपछि मानिस आवतजावत गर्न पाउने गरी नाका खुलाइएको हो । २०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको यो नाका हुँदै अब सर्वसाधारण चीन प्रवेश पाउने गरी नाका खुलाइएको हो ।
अध्यागमन कार्यालयबाट पास बनाएर शुक्रबार यस क्षेत्रका सांसद माधव सापकोटा सुबोध, भन्सार कार्यालयका प्रमुख दयानन्द केसीसहितको टोली बनाएर मितेरी पुल पारी गएसँगै यो नाका पूर्ण रुपमा खुलेको हो । भूकम्पपछि बन्द रहेको यो नाका यसअघि अस्थिर रुपमा मात्रै सञ्चालनमा आएको थियो ।
“नाका खुलेकोमा म खुसीयाली साटासाट गर्न चाहन्छु । बाटोमा जटिलता छ । बाटो स्तरोन्नति गर्न चीन सरकारले सहयोग गर्ने संकेत छ” सिन्धुपाल्चोक क्षेत्र नं। १ का सांसद सापकोटाले भन्नुभयो, “मानव आवतजावत हुँदा खाने बस्ने ब्यबस्था गर्न लाग्नेछौँ । नाका चलेमा रोजगारी सृजना हुने हुँदा अर्थतन्त्रले गति पनि लिनेछ ।”
त्यस्तै तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले नाका पूर्ण रुपमा खुलेकोमा खुशी व्यक्त गर्नुभयो । “यो नाकाप्रति चीन सरकार सकारात्मक देखियो । सडकले गर्दा गाडी पल्टी गर्नुपर्ने अवस्था छ ।”
त्यस्तै नेपाल ट्रक कन्टेनर ढुवानी सेवा समितिका अध्यक्ष अर्जुन बहादुर सापकोटाले केही महिना हाम्रो कन्टेनर खासामा जान नदिने कुरा पनि भएको बताए । “चीनतर्फ पार्किङको समस्या छ भनेको छ । त्यो समाधान चाँडै गरिनुपर्छ,” उहाँले भन्नुभयो, “नेपालबाट स्थानीयहरू चीन गएर सामान ल्याएर सानोतिनो व्यापार गरेर गुजारा गर्न सक्छन् ।”
या्े नाकाबाट कारोबार गर्ने व्यवसायी विष्णुबहादुर खत्रीले नाका पूर्ण रुपमा खुल्दा दुई देशको सम्बन्ध राम्रो हुने बताउनुभयो । “यहाँको जनता लाई राम्रो हुन्छ,” उहाँले भन्नुभयो, “पारीबाट सामान ल्याएर यहाँका स्थानीयले वारी ल्याएर बेच्न सक्ने वातावरण बनेको छ । यसले स्थानीयको जीवनस्तर उकास्न सहयोग गर्छ ।”
नाका खुलेसँगै चीनतर्फ जान स्थानीयको समेत लाम लागेको छ ।