रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिका नगर कार्यपालिका नगरसभाको १४ औँ अधिवेशन नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । कार्यक्रममा मन्त्री मोहन बहादुर बस्नेतको साथमा पूर्व सांसद शेर बहादुर तामाङ, प्रदेश सांसद कृष्ण कुमार तामाङ समिर लगायतको उपस्थिती रहेको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षा क्षेत्रको स्तरोन्नती बिना बिकास असम्भव रहेको बताउनुभएको छ । शिक्षा क्षेत्रमा ९ करोड भन्दा धेरै बजेट बिनियोजन गरिएको बताउँदै १२ कक्षा सम्म नि:शुल्क शिक्षाको पहल गर्ने उहाँले बताउनुभयो । साथै नगर भित्रका १३ वटै वडामा जाने सडक १२ महिना चल्ने गरि निर्माण गर्ने पनि उहाँले बताउनुभयो । नगरले शिफारिस गरेको योजनाहरूमा प्रदेश र केन्द्रबाट बजेट नपरेको प्रति उहाँले गुनासो गर्नुभयो ।
मेलम्चीमा २५ शैयाको अस्पताल बन्ने प्रकृया अघि बढ्छ : मन्त्री बस्नेत
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मेलम्चीमा २५ शैयाको अस्पताल बन्ने प्रकृया अघि बढ्ने बताउनुभएको छ । उहाँले गरिव तथा निमुखालाई निशुल्क औषधी उपचारको ब्यवस्था गर्न आफू लागी परेको पनि बताउनुभएको छ । मेलम्ची नगर अस्पताल मेलम्चीलाइ अत्याधुनिक एम्बुलेन्स दिएको बताउँदै उहाँले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्र ऐतिहासिक रूपमा अघि बढ्ने दाबी गर्नुभयो ।
२०७८ सालमा मेलम्चीमा बाढीले तहसनहस पार्दा केपी शर्मा ओली बाढी गएको २५ दिनपछि मात्र आएको तर आफू बाढी गएको दिनमै मेलम्ची आइपुगेको स्मरण गराउनुभयो । अहिले मेलम्ची नदीमा बनिरहेको बेलिबृजको नेतृत्व गरेको बताउँदै पक्की पुल प्रदेश मन्त्री युवराज दुलालको नेतृत्वमा बन्ने बताउनुभयो । प्रदेश सरकारको बन मन्त्रालयबाट सिन्धुपाल्चोकमा २५ करोड रकम परेको र जिल्लामा मिनि चिडियाखाना बन्ने उहाँको भनाई छ । हेलम्बु मेलम्ची सडक कालोपत्रे गर्छु भन्नुहुन्थ्यो १० बर्ष के हेर्नुभयो ? सँगै रहनुभएका यसै क्षेत्रका पूर्व सांसद शेर बहादुर तामाङलाई प्रश्न गर्नुभयो ।
बेलिबृज अस्थाई हो, हामीले पक्की पुल बनाउन जरूरी छ : तामाङ
नेकपा एमालेका स्थायी कमीटी सदस्य तथा पूर्व सांसद शेर बहादुर तामाङले नेकपा एमाले सरकारमा हुँदा मेलम्ची क्षेत्रमा अरवौँ बजेट बिनियोजन भएको बताउँदै सरकारबाट हटेपछि बजेट काटिएका कारण मेलम्चीमा पक्की पुल बन्न नसकेको बताउनुभयो ।
अहिले बन्न लागेको बेलिबृज अस्थाई भएकोले मेलम्चीमा पक्की पुल बनाउन जरूरी रहेको बताउनुभयो । साथै पाँचपोखरी र हेलम्बु प्रवेशद्वार मेलम्ची भएकाले यस क्षेत्रको बिकास गर्न जरूरी रहेको पनि उहाँले बताउनुभयो । नगरबाट सिफारिस भएका योजनाहरू प्रदेशले पार्न नसकेको उहाँको भनाई छ ।
तामाङले वीर अस्पतालमा निशुल्क दिइने उपचार शेवाको लागि स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतलाई धन्यवाद पनि दिनुभयो ।
दिर्घकालिन योजना ल्याउन नसकेको महसुस भयो : सांसद तामाङ
प्रदेश सांसद कृष्ण कुमार तामाङ समिरले प्रदेशबाट दिर्घकालिन योजना ल्याउन नसकेको महसुस भएको उहाँले बताउनुभएको छ । प्रदेशमा धेरै जना सांसदहरूको राय अनुसार काम हुने र आफूले मात्रै भनेर नहुने भएकोले धेरै दवावमा बजेट आएको साथै धेरै जनाको माग सम्बोधन गर्न टुक्रे बजेट आएको उहाँले बताउनुभयो ।
तर मेलम्ची क्षेत्रमा हाल सम्मकै धेरै बजेट आएको र प्रदेश गौरवको योजनाको रूपमा तपचुली, धौले र गुफा डाँडालाई लिइएको बताउनुभयो । प्रत्येक निर्वाचन क्षेत्रमा एक प्राङ्गारीक मल कारखाना खोल्न ५० लाख बिनियोजन भएको जानकारी दिनुभयो ।